• ८ वैशाख २०८१, शनिबार

सडक कब्जा गरी भौतिक संरचना बनाइँदै

blog

बुद्धभूमि नगरपालिका –६ मा सडक मिचेर भौतिक संरचना निर्माण गरिँदै । तस्बिर : जानु पाण्डे

जानु पाण्डे 

कपिलवस्तु, वैशाख २ गते । कपिलवस्तुको बुद्धभूमि नगरपालिकाका न्यायिक समितिका सदस्यले सडक मिचेर संरचना निर्माण गरेपछि उजुरी परेको छ । नगरपालिकाको वडा ६ का वडा सदस्य समेत रहेका शिवगुलाम यादव (मज्नु) ले कृषि सडक कब्जा गरी घरलगायतको संरचना बनाएपछि समितिमा उजुरी परेको हो । 

न्यायिक समितिका संयोजक तथा उपमेयर मिरा थारुले उजुरी परेपछि पालिकाबाट अमिन खटाएर नापगरी अतिक्रमण गरिएको सडक फिर्ता ल्याउने बताउनुभयो । अतिक्रमण फाल्न दबाब परेपछि सदस्य यादवले स्थानीय ६ जनाको नाममा अर्को उजुरी न्यायिक समितिमा हाल्ने बताएका छन् । 

सेमरहना महुवा हुँदै पण्डितपुर पुग्ने कृषि सडक स्थानीयले वर्षौँ अघिदेखि कब्जा गरी घर बनाएको भन्दै त्यस्ता सबै घर हटाउने माग गर्दै सदस्य यादवले अरूको नामको उजुरी न्यायिक समितिमा दर्ता गर्न दबाब बढाएको बताइएको छ । 

तर उपमेयर थारुले दोस्रो निवेदन लिन अस्वीकार गर्नु भएको छ । पुराना घरहरू सडक निर्माणका क्रममा फाल्ने र हाल सडक अतिक्रमण गरी निर्माण हुँदैगरेको संरचना रोक्न आग्रह गरे पनि सदस्य यादवले आलटाल गरेको न्यायिक समितिका एक सदस्यले बताउनुभयो ।