• १६ चैत २०८०, शुक्रबार

मानाभराले जित्यो सावादिन च्यालेन्ज कप उपाधि

blog

पुरुषतर्फ विजेता मानाभरा समाजलाई पुरस्कार वितरण गर्दै फक्ताङ्लुङका उपाध्यक्ष रवीन साम्रा।

चन्द्र पन्दाक

ताप्लेजुङ, वैशाख २ गते। ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिका–१ सावादिनमा सम्पन्न सावादिन च्यालेन्ज कप फुटबलको उपाधि मानाभरा खेलकुद समाजले जितेको छ। आयोजक बीसीएस मेमोरियल क्लब सावादिनलाई पराजित गर्दै मानाभरा खेलकुद समाज मिक्वाखोला–४ साँबाले पुरुषतर्फको उपाधि जितेको हो। 

सावादिन च्यालेन्ज कप फुटबल प्रतियोगिताको नयाँ वर्षको दिन शुक्रबार फाइनल भएको थियो। उपाधि जितसँगै मानाभराले एक लाख एक हजार १११ रुपियाँ नगद पुरस्कार पाएको छ। उपविजेता बनेको बीसीएस मेमोरियल क्लबले ५१ हजार १११ रुपियाँमा चित्त बुझाउनुपर्‍यो।

त्यस्तै च्यालेन्ज कपको महिलातर्फ आयोजक बीसीएस मेमोरियल क्लब ‘ए’ विजेता ‘बी’ टोली उपविजेता भएको छ। उपाधि विजेता टोलीले २५ हजार ५५५ रुपियाँ र उपविजेताले १५ हजार ५५५ रुपियाँ नगद पुरस्कार पाएको छ। 

पुरुष तथा महिला दुवैतर्फ विजेता र उपविजेतालाई फक्ताङ्लुङ गाउँपालिकाका उपाध्यक्ष रवीन साम्रा लिम्बूले ट्रफी, मेडल, प्रमाणपत्रसहित पुरस्कार वितरण गर्नुभएको थियो। आयोजकका अनुसार नयाँ वर्ष २०८० सालको अवसर पारेर खेलाइएको प्रतियोगिता चैत २६ गते सुरु भएर वैशाख १ गते सम्पन्न भएको हो।