• १६ चैत २०८०, शुक्रबार

आन्तरिक पर्यटकको रोजाइमा रानीमहल

blog

रानीमहल क्षेत्रमा घुम्न आएका आन्तरिक पर्यटक । तस्बिर : विन्दु थापा

बिन्दु थापा 

तानसेन, बैशाख २ गते । पाल्पाको श्रीनगर र रानीमहलमा नयाँ वर्षको पहिलो दिनमा १३ हजार बढी आन्तरिक पर्यटक भित्रिएका छन् । पाल्पाको पर्यटकीयस्थल मध्येको पर्यटकको रोजाइमा पर्ने यी दुई स्थलको रानीमहलमा आठ हजार बढी पर्यटक र श्रीनगरमा पाँच हजार बढी पर्यटक भित्रिएको तानसेन नगरपालीकाले जनाएको छ ।  

प्रेमको प्रतीकको रूपमा रहेको रानीमहलमा धार्मिक विश्वास र आपसी सम्बन्ध बनाउनेको भिड लागेको छ । काठमाडौंबाट रानीमहल घुम्न आउनुभएका सञ्जीव श्रेष्ठ र प्रतिमा श्रेष्ठले रानीमहलमा आएपछि श्रीमान् श्रीमतीको सम्बन्धमा उतारचढाव नआउने, सम्बन्ध सुमधुर हुने भएकाले अवलोकनमा आएको बताउनुभयो । यस्तै, पोखराबाट आउनुभएका कमल घिमिरे र सुनिता घिमिरेले रानीमहलको निकै चर्चा सुनेर घुम्न आएको बताउनुभयो । 

श्रीनगरमा भने पिकनिक खाने, रमाइलो गर्ने र केटाकेटी घुमाउन आउनेको भिडभाड थियो । विगतका वर्षहरूभन्दा यो वर्ष घुम्न आउने र नयाँ वर्ष मनाउन आउनेको सङ्ख्या बढी भएको नगरपालिकाले जनाएको छ । तानसेन नगरपालिकाले श्रीनगरको रेखदेख गर्न थालेर  पर्यटकको रोजाइमा पर्न थालेको भए पनि नयाँ वर्षमा हुने भिडभाडलाई भने उचित व्यवस्थापन गर्न नसकेको पर्यटकको भनाइ छ । 

पहिलाभन्दा व्यवस्थित भएको छ भन्ने सुनेपछि ३५ जनाको समूह बनाएर घुम्न आएका पोखराका पर्यटकले श्रीनगरमा खानेपानीको सुविधा भएसँगै वनभोज गर्नेको भिडभाड बढेको र नयाँ वर्ष मनाउन आउने भिडभाड बढेको बताएका थिए । नयाँ वर्ष मनाउन आउनुभएकी पोखराकी रमिता अर्यालले खानेपानी व्यवस्था र शौचालयको निर्माण भए श्रीनगर साँच्चीकै नेपालकै पर्यटकीय गन्तव्य स्थल बन्ने बताउनुभयो । 

उहाँले भन्नुभयो, “पर्यटकीय स्थल पोखरा छाडेर पाल्पाको श्रीनगरमा आएका छौँ, यहाँको हरियाली र सुन्दर वातावरण हेर्न आएको हो, एक बाल्टिन पानी भर्न झण्डै दुई घण्टा लाग्यो यसलाई व्यवस्थित गर्नुपर्छ, विद्युत समयमा नजोडिदिँदा हामी गीत बजाएर नाच्न पाएनौँ, ७ बजेदेखि ९ बजेसम्म त्यसै बस्यौ त्यसतर्फ ध्यान दिन जरुरी छ ।” 

नयाँ वर्ष मनाउन श्रीनगरमा आएका बच्चाबच्ची खेलाउने, घुम्न र फोटो खिच्नमा व्यस्त थिए । शित्तलनगरबाट वनभोजमा आउनुभएका शान्ति गाहाले पहिले बच्चाबच्ची ल्याउँदा भुलाउने ठाउँ नपाएर छिट्टै घर फर्किनुपर्ने बाध्यता अहिले हटेको बताउनुभयो । पहिलेको तुलनामा अहिले केही सुधार भएको सुनाउँदै उहाँले चिडियाखाना, शौचालय र फूलबारी पनि निर्माण गर्नुपर्ने र विद्युतको व्यवस्था गरिदिनुपर्ने सुझाव दिनुभयो । 

भैरहवा, कपिलवस्तु, तौलिहवा, पाल्पा, स्याङ्जा, रुपन्देही, काठमाडौं, पोखरा लगायत ठाउँबाट र छिमेकीमुलुक भारत, बेलायत, जापान, अमेरिका, पाकिस्तान, फ्रान्स, बेल्जियम अमेरिका, जापानलगायतका ठाउँबाट नयाँ वर्ष मनाउन आएको तानसेन नगरपालिका प्रमुख प्रशासकीय अधिकृत जीवन ज्ञवालीले जानकारी दिनुभयो । 

नयाँ वर्षको पहिलो दिन रानीमहलबाट २ लाख ८९ हजार ९ सय ४० रुपियाँ आम्दानी भएको र श्रीनगरबाट १ लाख ९७ हजार ९५ रुपियाँ आम्दानी भएको प्रमुख प्रशासकीय अधिकृत ज्ञवालीले बताउनुभयो ।