• ६ वैशाख २०८१, बिहिबार

तालचोक–बेगनास सडक स्तरोन्नति

blog

कास्की समाचारदाता

कास्की, वैशाख २ गते । लामो समयदेखि निर्माणको चर्चा चलिरहेको तालचोक–बेगनास सडकखण्डको स्तरोन्नति हुने भएको छ । विश्व बैङ्कको सहयोगमा उक्त सडकको स्तरोन्नति गर्न लागिएको हो । 

पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले तोकिएकै मितिमा सम्पन्न गर्न निर्माण कम्पनीलाई निर्देशन दिनुभएको छ । प्रमुख आचार्यले भन्नुभयो, “तोकिएको समयभित्र निर्माण सम्पन्न गर्नुभयो भने कन्ट्र्याक्टर र कन्सल्टेन्ट दुवैलाई सार्वजनिक अभिनन्दन गर्नेछौँ ।” 

उहाँले २०८१ सालभित्रै सडकको काम सम्पन्न गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले तोकिएको समयमा लक्ष्यअनुसारको काम गर्न कन्ट्र्याक्टर र कन्सल्टेन्ट दुवैलाई निर्देशन दिँदै कुनै बहानाबाजी नचल्ने प्रस्ट्यानुभयो । पैसाका कारण काम नरोकिने भन्दै उहाँले गुणस्तरीय काम गर्न सचेत गराउनुभयो ।  यो परियोजनामा विश्व बैङ्कले एक अर्ब ४९ करोड १५ लाख लगानी गर्ने भएको छ । करिब डेढ किलोमिटर लम्बाइको तालचोक बेगनास सडक हरियाली, फुटपाथ, साइकल ट्र्याक र डिभाइडरसहित चार लेनको हुनेछ । यस खण्डमा पाँचवटा पुल निर्माण गरिनेछन् । 

सडकको बीचमा १.५ मिटर चौडाइको डिभाइडर, दुवै छेउमा २.५ मिटर चौडाइको पार्किङ, दुवै छेउमा एक मिटर चौडाइको हरियाली क्षेत्र, दुवै छेउमा नालीमाथि दुई मिटर चौडाइको फुटपाथ निर्माण गरिनेछ । सडक निर्माणको ठेक्का स्वच्छन्द–सपना–वल्र्डवाइड जेबी, काठमाडौँले पाएको छ । उसले अनुमानित रकमभन्दा ३८.६४ प्रतिशत कम ७५ करोड ४८ लाख ६७ हजार ८७३.९४ रुपियाँमा ठेक्का लिएको हो । निर्माण कम्पनीसँग सम्झौता भएको मितिले ७३० दिनमा सम्पन्न गर्ने गरी ४ जुलाई २०२२ मा सम्झौता भइसकेको छ ।

निर्माण व्यवसायी नारायण भुसालले तोकिएकै समयमा आफूले पाएको जिम्मेवारी पूरा गर्ने प्रतिबद्धता जाहेर गर्नुभयो । परियोजनाका परामर्शदाता लक्ष्मण आचार्यले लामो समयदेखि योजना अलपत्र पर्दा स्थानीयले निकै सास्ती खेप्नु परेको भन्दै अब यसलाई तोकिएकै समयभित्र नै सम्पन्न गरी विद्यमान समस्याको समाधान गरिने विश्वास दिलाउनुभयो । 

पोखरा महानगरपालिका–२७ का वडाध्यक्ष पूर्णकुमार गुरुङले सडकको स्तरोन्नतिसँगै व्यवस्थित बसपार्कसमेत निर्माणमा जोड दिनुभयो । उहाँले भन्नुभयो, “चार लेनको सडक बन्दै गर्दा बेगनासमा एउटा व्यवस्थित बसपार्कको पनि आवश्यकतालाई नजरअन्दाज गर्न मिल्दैन ।”