• ८ वैशाख २०८१, शनिबार

फुङ्लिङ बजारमा सडक नापजाँच

blog

ताप्लेजुङ समाचारदाता

ताप्लेजुङ, वैशाख २ गते । मेची राजमार्गअन्तर्गत सदरमुकाम फुङ्लिङ बजारभित्र सडक नापजाँच (सीमाङ्कन) गर्न सुरु गरिएको छ। मेची राजमार्गको सडक क्षेत्रभित्रको संरचना हटाउन दिइएको अन्तिम म्याद सकिएपछि फुङ्लिङ नगरपालिकाले सडक नापजाँच गर्न सुरु गरेको हो। सडकको दायाँ–बायाँ साढे सात मिटर कायम रहने गरी नापजाँच सुरु गरिएको नगरपालिकाले जनाएको छ। 

सडक डिभिजन कार्यालय, इलाममार्फत मेची राजमार्ग विस्तारको कार्य अघि बढाउने योजनाअनुसार सडक नापजाँच र सडक क्षेत्राधिकारभित्रको संरचना हटाउन सुरु गरिएको हो। सोही योजना कार्यान्वयनस्वरूप फुङ्लिङ नगरपालिकाले बजारको हेलिप्याड क्षेत्रबाट सडक नापजाँच सुरु गरेको छ। सडक नापजाँच गर्दै सडक क्षेत्राधिकारभित्र निर्माण भएका घरटहरालगायतका संरचना हटाउन सम्बन्धित पक्षलाई नगरपालिकाले आग्रहसमेत गरेको छ। 

फुङ्लिङ नपाले बजार क्षेत्रमा संरचना हटाउन २०८० साल वैशाख २ गतेसम्मको म्याद दिएको छ। तोकिएको समयभित्र संरचना आफैँ हटाउन र नहटाए सडक ऐनअनुसार प्रक्रिया अघि बढ्ने भनी सचेत गराइएको छ। कतिपयले सडक मापदण्डभित्र निर्माण भएका संरचना आफैँ हटाउन थालेका छन् भने अधिकांशले सूचनाको बेवास्ता गरी संरचना हटाउन अटेर गरिरहेका छन्।