• १३ वैशाख २०८१, बिहिबार

रौता पोखरीमा धार्मिक मेला

blog

गाईघाट समाचारदाता

गाईघाट, वैशाख २ गते । नयाँ वर्षको उपलक्ष्यमा उदयपुरको प्रसिद्ध धार्मिक एवं पर्यटकीय स्थल रौता पोखरी क्षेत्रमा शुक्रबार धार्मिक मेला लागेको छ। अघिल्ला केही वर्ष कोरोना महामारीका कारण प्रभावित भए पनि यस वर्ष भने रौतामा भव्य मेला लागेको छ।

आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्ने उद्देश्यले आयोजना गरिएको मेलामा ठूलो सङ्ख्यामा भक्तजनको उपस्थिति रहेको मेला आयोजक समितिले जनाएको छ। नयाँ वर्षको उपलक्ष्यमा लाग्ने मेलामा उदयपुर, सिरहा र सप्तरी जिल्लाबाट ठूलो सङ्ख्यामा आएका भक्तजनको पोखरी क्षेत्रमा घुइँचो लागेको छ। रौता भगवतीको दर्शनबाट मनोकामना पूरा हुने विश्वास भएकाले नयाँ वर्षमा भगवतीको दर्शन गर्न आउने भक्तजनको सङ्ख्या हरेक वर्ष वृद्धि हुँदै गएको पुजारी पहलमान अधिकारीले बताउनुभयो। रौतामाई गाउँपालिका–६ मा अवस्थित रौता क्षेत्र उदयपुर जिल्लाकै प्रमुख धार्मिक पर्यटकीय स्थलसमेत भएकाले त्यस क्षेत्रमा भक्तजनको भिड लाग्नु स्वाभाविकै मानिन्छ। नयाँ वर्षको बिदाको मौका छोपी एक दिनअघि नै त्यहाँ पुगेका युवकयुवतीको जमघटले रौताको वातावरणलाई थप रौनक बनाएको सो गाउँपालिकाका उपाध्यक्ष भूपेन्द्रबहादुर थापाले बताउनुभयो।