• ८ वैशाख २०८१, शनिबार

सलहेश फूलबारीमा भक्तजनको घुइँचो

blog

सन्तोष सुवेदी

सिरहा, वैशाख २ गते । ऐतिहासिक लोकनायकका रूपमा मानिँदै आएको सलहेशको लोकगाथा र कीर्तिको स्मरण गर्दै विभिन्न स्थानमा लाग्ने मेलाले सिरहा जिल्लालाई ‘सलहेशमय’ बनाएको छ।

वि.सं. १३२५ ताकाका प्रतापी राजा सलहेशको सौर्य, पराक्रम, वीरता, साहस र प्रेमसँग गाँसिएका गाथाहरूको सम्झनास्वरूप यहाँका बासिन्दाले प्रत्येक वर्षको वैशाख १ गते लहान नगरपालिका–१२ स्थित सलहेश फूलबारी र सिरहा सदरमुकामको महिसोथा गढमा परम्परागत मेला आयोजना गर्दै आएका छन्। 

सलहेश फूलबारी र महिसोथा गढका साथै लहान–१५ स्थित पकडिया गढ, सलहेशको स्थान मिर्चैयाको कमल दह, पत्तार पोखरीमा प्रत्येक वर्षको वैशाख २ गते मेला लाग्ने गरेको छ। दुवै दिन विभिन्न स्थानमा लाग्ने मेलाका कारण पूरै जिल्ला नै ‘सलहेशमय’ बनेको छ।

सलहेशको फूलबारी रहेको लहान नगरपालिका–१२ का वडा अध्यक्ष बद्रीनारायण चौधरीका अनुसार राजा सलहेश प्रत्येक दिन सिरहा सदरमुकामस्थित आफ्नो राजधानी महिसोथा गढबाट कमल दहमा स्नान गरी फूलबारीमा आफ्ना साथीसँग कुस्ती लडेपछि प्रेमिका कुश्मा मालिनीसँग वनविहार गर्ने किंवदन्तीको स्मरण गर्न आजको दिन यहाँ लाखौँ मानिसको उपस्थिति रहने गरेको छ। 

सलहेश गाथामा उल्लेख गरिएअनुसार सिरहा सदरमुकाममा जन्मिएका सलहेश प्रेमिका मालिनीलाई भेट्न आउँदा मालिनीले फूलको माला लगाइदिने गर्नुहुन्थ्यो। कालान्तरमा सोही माला राजा सलहेश र उहाँकी प्रेमिका मालिनीको प्रेमको प्रतीकका रूपमा प्रत्येक वर्षको वैशाख १ गते फुल्ने गरेको किंवदन्ती छ। सलहेशको फूलबारीमा लोकनायक सलहेशको मन्दिर छेउमा रहेको हारमको रुखमा देखिएको उक्त फूल सुनाखरीको एक प्रजाति रहेको वडाध्यक्ष चौधरीले बताउनुभयो। मालाको अवशेषका रूपमा उक्त रुखमा वर्षको अन्तिम दिन कोपिलाजस्तो देखिने र भोलिपल्ट वैशाख १ गते बिहानीमै आश्चर्यजनक रूपमा मालाको गुच्छाको रूपमा फुल्ने गरेको फूलबारीस्थित मालिनी मन्दिरका पुजारी जितेन्द्र धामीले जानकारी दिनुभयो। 

मेलालाई व्यवस्थित बनाउन ती स्थानमा रहेका मन्दिर, तलाउ, वनवाटिकाको सरसफाइ तथा पुराताìिवक स्थलमा फोहोर हुन नदिन ती स्थलभन्दा केही टाढा आयोजकले पसल सञ्चालन गर्ने स्टल निर्धारण गरेका छन्। यसबाहेक मेला स्थलमा खानेपानी, विश्रामस्थल तथा शौचालयको पनि प्रबन्ध गरिएका छन्। यसबाहेक फूल फुल्ने स्थान र राजा सलहेश तथा उहाँकी प्रेमिका मालिनीको मन्दिर र मूर्तिहरू विशेष रूपले सजाइएको छ। ती माला र मेला हेर्न सिरहा, सप्तरी, उदयपुर, सिन्धुली, धनुषा, महोत्तरी, सर्लाही तथा भारतका निकटवर्ती गाउँबाट लाखौँको सङ्ख्यामा सर्वसाधारण यहाँ आएका छन्। 

उक्त फूलबारीमा आई गरेको भाकल पूरा हुने विश्वास यस क्षेत्रका सर्वसाधारणको छ। राजा सलहेश तथा मालिनीको प्रेम दिवसका रूपमा मनाइने यस दिन सोही फूलबारीमा रहेको मालिनी मन्दिर अगाडि कैयौँ जोडीले धुमधामका साथ विवाह पनि गर्ने गर्छन्।