• १२ वैशाख २०८१, बुधबार

विपन्नलाई उपचार गराउन समस्या

blog

तस्बिर : अविनाश चौधरी सेती प्रादेशिक अस्पतालको सामाजिक सेवा एकाइ ।

धनगढी समाचारदाता

धनगढी, वैशाख २ गते । सेती प्रादेशिक अस्पतालले सामाजिक सेवा एकाइबाट लक्षित वर्गलाई दिइँदै आएको सेवा बन्द गरेपछि विपन्नलाई उपचार गराउन समस्या भएको छ । बजेटको अभाव देखाउँदै अस्पतालले सेवा नै बन्द गरेपछि विपन्न, गरिबलगायत लक्षित वर्गलाई उपचार गराउन समस्या भएको हो । अस्पतालले सामाजिक सेवा एकाइमार्फत लक्षित वर्गलाई निःशुल्क उपचार सेवा उपलब्ध गराउँदै आएको थियो । 

सो एकाइमार्फत खानासमेत उपलब्ध गराउने गरिएको थियो । तर चालू आर्थिक वर्षमा बजेट अभाव देखाउँदै अस्पतालले माघ १७ बाटै सेवा बन्द गरेको छ । विपन्नलाई उपलब्ध गराउँदै आएको सेवा बन्द भएपछि पैसा तिर्न नसक्नेहरू उपचार गराउनबाट वञ्चित हुनुपर्ने अवस्था सिर्जना भएको बताउँछन् । 

“आधा मात्रै भए पनि शुल्क छुट भएमा गरिबलाई उपचार गराउन सहज हुन्छ,” धनगढी उपमहानगरपालिका–१४, फूलबारीका छोटेलाल चौधरीले भन्नुभयो । उहाँ श्रीमती सोनप्यारीको उपचार गराउन वडा कार्यालयले बनाइदिएको विपन्न सिफारिस पत्र बोकेर सेती अस्पताल पुग्नुभएको थियो ।

“ऋण सापटी लिएर उपचार गराउनुपर्ने अवस्था सिर्जना भएको छ,” उहाँले भन्नुभयो । चौधरीका अनुसार गत वर्ष वडाकै सिफारिसका आधारमा पाठेघरको निःशुल्क शल्यक्रिया भएको थियो । त्यसपछि नियमित चेकजाँच गराउँदै आउनुभएको छ । 

लक्षित वर्गलाई दिइँदै आएको सेवा बन्द भएपछि निःशुल्क उपचार सेवा लिन आउनेलाई अस्पतालले फिर्ता पठाउने गरेको छ । अस्पतालका सूचना अधिकारी मेखराज उपाध्यायले लक्षित वर्गलाई निःशुल्क उपचार सेवा दिनका लागि आएको बजेट सकिएकाले सेवा बन्द गर्नुपरेको बताउनुभयो । 

चालु आर्थिक वर्षमा लक्षित वर्गका लागि अस्पताललाई एक करोड ८० लाख रुपियाँ प्राप्त भएको थियो । त्यो बजेट गत कात्तिकमै सकिएको थियो । प्रदेश सामाजिक विकास मन्त्रालयसँग थप तीन करोड २० लाख रुपियाँ बजेट माग गरिएको उपाध्यायले बताउनुभयो । सामाजिक एकाइमार्फत लक्षित वर्गलाई सेवा दिन एक महिनामा ४० लाख रुपियाँ खर्च हुने गरेको छ ।