गोरखापत्र संस्थानको भवनमा क्षति ः प्रकाशन कार्य अप्ठ्यारोमा

लक्ष्मी खतिवडा

काठमाडौँ, वैशाख १६ गते । भूकम्पका कारण नेपालको सबैभन्दा जेठोे सञ्चारमाध्यम गोरखापत्रको तीनतले पुरानो संस्थान भवन क्षतिग्रस्त हुँदा कार्यालयका महत्वपूर्ण कामकाज ठप्प जस्तै बनेको छ ।

सो भवन अत्यन्त जोखिमपूर्ण अवस्थामा रहेको हुँदा गोरखापत्र दैनिक एवं द राइजिङ नेपाल दैनिक सञ्चालन गर्न निकै अप्ठेरो अवस्था सिर्जना भएको छ ।

शनिवार भएको विनाशकारी भूकम्प तथा आइतबार पुनः दोहोरिएको शक्तिशाली अर्काे भूकम्पको धक्काले एक सय वर्षभन्दा बढी पुरानो संस्थानको भवनमा ५०औँ चिरा परेका छन् । गोरखापत्र यो भवनमा १९९६ साल वैशाख १ गतेदेखि सरेको हो ।

अब सानो धक्का पनि धान्न नसक्ने अवस्थामा पुगेको यो भवनको दुवैतिरको प्रवेशद्वार, पुरानो प्रेस भवनलगायत विभिन्न कोठाका भित्ता तथा ढलानमा समेत चिरा परेका छन् ।

“भवन क्षतिग्रस्त भएका कारण कर्मचारीहरू मानसिक रूपमै कार्यालयभित्र बसेर काम गर्ने अवस्थामा छैनन्”, संस्थानको सामान्य प्रशासन प्रमुख ओम भुसाल बताउनुहुन्छ ।

केही कर्मचारी डरकै बीचमा पनि सो भवनमा उपस्थित देखिए पनि कुन बेला के हुने हो भन्ने त्रासमा रहेको नायव महाप्रवन्धक विनोद अर्यालले बताउनुभयो ।

सो भवनमा व्यापार, अर्थ, प्रशासन, सामान्य प्रशासन, वितरण विभाग, गोरखापत्र पुस्तकालय, मधुपर्क, युवामञ्च र मुना मासिक प्रकाशनलगायत संस्थानको महत्वपूर्ण कार्य हुँदै आएका छन् ।

पुरानो भवनसँगै जोडिएको भवनमा संस्थानका दैनिक प्रकाशन गोरखापत्र तथा द राइजिङ नेपालको कार्यालय रहेकोले सो भवनको साँघुरो बाटो हुँदै आवतजावत गर्न निकै डरलाग्दो भएको कार्यरत पत्रकार तथा प्रेसका कर्मचारीको गुनासो छ ।

संस्थानका महाप्रबन्धक सुशील कोइरालाले भन्नुभयो, “घोडा तबेलाको रूपमा निर्माण गरिएको भवनका अधिकांश कोठा पूर्ण रूपमा स्वच्छ हावा छिर्ने खालका छैनन् । अन्तर्राष्ट्रिय श्रम सङ्गठनको मापदण्ड अनुसार कार्यरत कर्मचारीलाई हावा, प्रकाश छिर्ने र काम गर्न सहज हुने व्यवस्था हुनुपर्ने भए पनि संस्थानका कर्मचारीले हालसम्म कुनै पर्वाह नगरी काम गरिरहेको अवस्था हो । भूकम्पपछिको अवस्था अब निकै डरलाग्दो भएकोले सरकारी सम्पत्ति गोरखापत्र व्यवस्थापनका लागि मैले सूचना तथा सञ्चार मन्त्रालयका सचिव सुनिलबहादुर मल्ललाई अवगत गराइसकेको छु ।”

उहाँले भूकम्पका कारण संस्थानका प्रकाशनहरूलाई निरन्तरता दिन निकै कठिन भएको पनि बताउनुभयो ।

दक्षिण एसियामा एक वर्ष पुरानो प्रकाशनका इतिहास भएको प्रमुख पाँच वटा पत्रिकामध्ये गोरखापत्र राष्ट्रिय दैनिक हो । गोरखापत्रले आफ्नो प्रकाशनको ११४ वर्ष पार गरिसकेको छ । भूकम्पका कारणले संस्थानका पुराना प्रकाशनहरू जोगाउन पनि गाह्रो भइरहेको महाप्रवन्धक कोइरालाले बताउनुभयो ।

उहाँले भन्नुभयो, “एक शताब्दी पुराना प्रकाशनहरू मानव इतिहासका लागि नै ऐतिहासिक दस्तावेज हुन्छन् । नेपालको इतिहास मात्र नभएर दक्षिण एसियाकै लागि महत्वपूर्ण मानिएको गोरखापत्र संस्थानको ११४ वर्ष पुरानो प्रकाशन कसरी सुरक्षित राख्ने भन्ने चुनौति हामीलाई थपिएको छ । संस्थानका भवन चर्किँदा पानी चुहिने भइसकेको छ । यी ऐतिहासिक दस्तावेजलाई आगामी पुस्ताका लागि जोगाउनु हामी सबैको कर्तव्य हो ।”

गोरखापत्रका प्रधान सम्पादक सीताराम अग्रहरिले दक्षिण एसियाकै पाको अखबार गोरखापत्र नेपाली जनताको धरोहर भएको हुँदा यसलाई जोगाउनु सरकारको कर्तव्य हो भन्नुभयो ।

डरलाग्दो अवस्थामा पत्रकार, कर्मचारीले काम गर्नुपरिरहेको स्थितिको अन्त्य हुनुपर्ने बताउँदै उहाँले जीर्ण कार्यालय भवनबारे वैकल्पिक सोच बनाउन ढिलो भइसकेको बताउनुभयो ।

गोरखापत्र दैनिकका प्रवन्ध सम्पादक कमल रिजालले भन्नुभयो, “सबै मानिस नयाँसडक, असनबाट धमाधम घर छोडेर भागाभाग चलिरहेका बेला हामीले भत्किन थालेको पुरानो भवनबाट आम नागरिकलाई सूचना दिने कामलाई निरन्तरता दिन सफल भयौँ । ज्यान जोखिममा राखेर पत्रिका प्रकाशन गरेर पाठकलाई पु¥याएका छौँ । अब त कतिबेला के हुन्छ भन्नै नसकिने अबस्था छ । यसका लागि सरकार सम्वेदनशील हुनु जरुरी छ ।”

राष्ट्रिय विपत्ती आइलागेका बेला आम नागरिकलाई सूचना प्रवाह गर्नुपर्ने सम्वेदनशील कार्यलाई जोखिमका प्रवाह नगरी आफ्ना प्रकाशनलाई निरन्तरता दिएको भन्दै संस्थानका महाप्रवन्धक सुशील कोइरालाले सम्पूर्ण पत्रकार, कर्मचारीलाई धन्यवाद ज्ञापन गर्नुभएको छ ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना