• १२ वैशाख २०८१, बुधबार

विद्युत चोरी गरेको आरोपमा छ जना पक्राउ

blog

फाइल तस्बिर

देवराम प्रसाद यादव
सप्तरी,  चैत २८ गते । 
विद्युत चोरी गरिरहेको आरोपमा मङ्गलबार जिल्लाको विभिन्न स्थानबाट छ जनालाई प्रहरीले पक्राउ गरेको छ । योसँगै दुई महिनाको अवधिमा विद्युत चोरी गरेको आरोपमा पक्राउ पर्नेको सङ्ख्या १३१ पुगेको छ ।

पक्राउ पर्नेमा छिन्नमस्ता गाउँपालिका –४ लालापट्टीका ६० वर्षीय शत्रुधन यादव, लालापट्टीका ५८ वर्षीय राजेन्द्रप्रसाद यादव, लालापट्टीका ५० वर्षीय रामचन्द्र रजक, वडा ५ लोखरमका ४० वर्षीय शिवशङ्कर पण्डित, लोखरमका ५५ वर्षीय गङ्गा सुतिहार र लोखरमका २५ वर्षीय गणेश मेहता हुनुहुन्छ ।

विद्युत प्राधिकरण राजविराज वितरण केन्द्र राजविराज र प्रहरीको संयुक्त टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।  विद्युतीय पोलबाट हुकिङ्ग गरी विद्युत प्रयोग गरिरहेको अवस्थामा पक्राउ परेका उनीहरूलाई जिल्ला प्रहरी कार्यालय सप्तरीमा राखिएको छ ।

जिल्ला प्रहरी कार्यालय सप्तरीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक नरेशकुमार सिंहले पक्राउ परेकाबाट प्रति व्यक्ति १५ हजार पाँच सयका दरले जरिवाना असुल गरिएको जानकारी दिनुभयो । साथै उहाँले अब उप्रान्त विद्युत चोरी नगर्ने कागजात बनाएर उनीहरूलाई छाडिने बताउनुभयो ।