• ७ वैशाख २०८१, शुक्रबार

भेटियो नयाँ प्रजातिको माछा

blog

नवराज कट्टेल

विराटनगर, चैत २७ गते । विराटनगरस्थित सिङ्घिया नदीमा नयाँ प्रजातिको माछा फेला परेको छ । अनुसन्धानकर्ताले नेपालमै पहिलो पटक यस्तो प्रजातिको माछा भेटिएको दाबी गरेका छन् । 

झापा र मोरङका पाँच नदीमा गरिएको खोज अनुसन्धानका क्रममा विराटनगरको पूर्वी सिमाना भएर बग्ने सिङ्घियाको तल्लो तटीय क्षेत्रमा नयाँ माछा ‘एम्ब्लिसेप्स वाइखोमी’ फेला परेको हो । 

अनुसन्धानकर्ताहरूले २०७८ मङ्सिरदेखि २०७९ असोजसम्म कोशी प्रदेशका दुई जिल्लामा बग्ने पाँच नदीमा अनुसन्धान गरेका हुन् । विराटनगरका अनुसन्धानकर्ताहरू जसहाङ लिम्बू, दीपक राजवंशी, भरतराज सुब्बा, अस्मित सुब्बा तथा विदेशीहरू जिनक्वान याङ र चेनहोङ लीको समूहले सिङ्घियाको तल्लो भाग जहदा पुल र बुधनगर गरी दुईवटा अध्ययन बिन्दुमा नयाँ प्रजातिको माछा फेला परेको दाबी गरेको छ । 

यो माछा नेपालका लागि नयाँ रेकर्ड भन्दै अमेरिकाबाट प्रकाशित इन्टरनेसनल जर्नल अफ जुलोजीको २०२३ अप्रिलको अङ्कमा प्रकाशित छ । अनुसन्धानकर्ताहरूका अनुसार एम्ब्लिसेप्स वाइखोमी प्रजातिको माछा दक्षिण एसियातिर विरलै पाइन्छ । अनुसन्धानमा संलग्न त्रिभुवन विश्वविद्यालयको जुलोजी विषयका पूर्वसहप्राध्यापक डा. भरतराज सुब्बाका अनुसार सन् २०१६ मा भारतमा पनि ब्रह्मपुत्र नदीको सहायक नदीअन्तर्गत अरुणाचल प्रदेशमा पहिलो पटक यो प्रजातिको माछा फेला परेको रेकर्ड गरिएको थियो । यसको सङ्ख्या अति नै कम र जताततै नपाइने भएकाले धेरै विवरण भेटिएको छैन । अनुसन्धान अवधिभरिमा सिङ्घिया नदीमा पनि पाँच–दसवटा मात्र रेकर्ड गरिएको थियो । 

यसको लम्बाइ ४–९ सेन्टिमिटर र तौल ३० ग्रामभन्दा कम हुने भएकाले यो अति नै सानो प्रजाति हो । यसको आनीबानी, आहारबिहार, प्रजनन आदिको गहिराइमा अध्ययन भएको छैन । यसबाट मानिसले के कति फाइदा लिन सक्छ भन्ने पनि यकिन हुन नसकेको सुब्बा बताउनुहुन्छ । 

सिङ्घियाको पानीमा भौतिक तथा रासायिनक विशेषतासमेत अनुसन्धानका क्रममा परीक्षण गरिएकाले कस्तो जलीय वातावरणमा बस्दोरहेछ भन्नेसम्म खुलेको उहाँले बताउनुभयो । 

हाल चीनमा माछाकै विषयमा विद्यावारिधि गरिरहनुभएका प्रमुख अनुसन्धानकर्तामध्ये जसहाङ लिम्बूले सिङ्घियाका जलचर अनुसन्धानका क्रममा नयाँ किसिमको माछाको बाहिरी बनावट र पखेटा (फिन)हरूको नापजाँच गरिएको, अरू प्रजातिसँग तुलना गर्ने काम भएको र निष्कर्षमा पुग्दा नयाँ प्रजाति नेपालमा पहिलो पटक भेटिएको पत्ता लगाइएको बताउनुभयो । उक्त निष्कर्षलाई जर्नलमा प्रकाशित गरेपछि विश्वका माछा विशेषज्ञहरूको समुदायले सार्वजनिक पुष्टि गरेको ठहर्ने दाबी छ । 

एम्ब्लिसेप्स जातिका जम्मा २६ वटा प्रजाति संसारमा छन् । अघिल्लो वर्ष मात्रै यसको २६औँ प्रजाति पत्ता लागेको थियो । नेपालका लागि अहिले पत्ता लागेको यो नयाँ प्रजातिसँगै अब २७० प्रजातिका माछा भएका छन् । लिम्बूका अनुसार मोरङ जिल्लामा पाइने ११८ प्रजातिमध्ये सिङ्घिया नदीमा ६२ प्रजातिका माछा पाइन्छन् । एम्ब्लिसेप्स वाइखोमीको अस्तित्वले नेपालमा माछाको संसारमा एक नयाँ आयाम थपेको दाबी छ ।