अमेरिकी ग्रिनकार्ड पाउन झन् कठिन

कृष्णराज खनाल

बोस्टन(संयुक्त राज्य अमेरिका), असोज ९ गते । अमेरिकी सरकारले अब फुड स्ट्याम्प, मेडिकेड (स्वास्थ्य), सरकारी आवास सुविधा (हाउजिङ) लगायतका सुविधा लिने आप्रवासीलाई ग्रिनकार्ड नदिन सक्ने नियम सार्वजनिक गरेको छ ।
शनिवार प्रस्ताव गरिएको यो नियमअनुसार, फुड स्ट्याम्प, मेडिकेड र हाउजिङ सुविधा लिने र लिने सम्भावना भएकाहरुलाई पनि ग्रिनकार्ड वा भिसा नदिन सक्ने जनाइएको छ ।
करिब २० वर्ष पुरानो नियमलाई परिवर्तन गर्दै ट्रम्प प्रशासनले यो नयाँ नियमको घोषणा गरेको हो । नयाँ नियमबाट स्वास्थ्य, खाद्य वा सरकारी आवास सुविधा लिनेहरूलाई समेत ग्रिनकार्ड लिनबाट वञ्चित गराउनसक्ने छ । अमेरिकी सरकारका लागि यस्ता मानिस भार भएको कारण देखाउँदै यो नियम लागू गर्न खोजिएको जनाइएको छ ।
अमेरिकी सरकारको डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीकी सेक्रेटरी क्रिस्टिन नेल्सनले यो नयाँ नियममा हस्ताक्षर गरिसकेकी छन् । सेक्युरिटीले सार्वजनिक गरेको प्रेस विज्ञप्तिमा ६० दिने सार्वजनिक पुनरावलोकनपछि यो नियम लागू हुने उल्लेख छ । अमेरिकी काँग्रेसले यो नियम पारित गरेपछि कानुनी हैसियत भए पनि कम आम्दानी भएर फुडस्ट्याम्प र आर्थिक सहायता लिनेहरूलाई ग्रिनकार्ड प्राप्त गर्नलाई कठिन बनाउनेछ ।
यो नियमले बालबच्चालाई पनि बढी प्रभाव पार्नेछ । यो नियम लागू भएको खण्डमा करिब तीन लाख ८० हजार मानिस प्रभावित हुनेछन् ।
पहिले नै ग्रिनकार्ड पाइसकेकाहरूलाई भने यो नियमले खास प्रभाव नपार्ने तर ग्रिनकार्ड नवीकरण गर्दा भने मेडिकेड, फुड स्ट्याम्प वा आवास सुविधा लिइएको पाइएमा नवीकरणमा समस्या पर्ने छ । यो नियमबाट ग्रिनकार्ड लिन लाइनमा बसेकालाई पनि प्रभाव पार्ने बताइएको छ ।
अमेरिकी सरकारले आइतबार मात्रै यो नियमसम्बन्धी ४४७ पृष्ठ लामो नियम सार्वजनिक गरेको हो ।
सार्वजनिक भएको यो नियमबाट शरणार्थीलाई भने प्रभाव नपर्ने जनाइएको छ । तर डीभी लोटरी, रोजगारमा आधारित ग्रिनकार्ड वा परिवारमा आधारित ग्रिनकार्डका सन्दर्भमा भने यो नियम लागू हुनेछ ।
अमेरिकन सिभिल लिबर्टिज युनियनले भने यो नियमको कडा शब्दमा भत्र्सना गरेको छ । उसले भनेको छ, यो नियम आप्रवासीलाई किक हान्ने र अपाङ्गता भएकालाई खेद्ने गरी ल्याइएको छ । आप्रवासी वकिलहरू ट्रम्पको नियमविरुद्ध खुलेर आवाज उठाउने पक्षमा रहेका छन् ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना


Copyright © 2014, Gorkhapatraonline.com. All rights reserved. | Developed by: Young Minds