• १२ वैशाख २०८१, बुधबार

निःशुल्क स्वास्थ्य शिविरबाट पाए २७६ जनाले स्वास्थ्य सेवा

blog

शिविरमा उपचारका लागि लाइनबद्ध महिलाहरू । तस्बिर: गोरखापत्र

बाबुराम शर्मा 

दोलखा, चैत २६ गते । धुलिखेल अस्पतालद्वारा सञ्चालित दोलखा अस्पताल, कालिन्चोक गाउँपालिका–८ र दोलखा ल्यान्स क्लबको संयुक्त आयोजनामा आयोजित दुईदिने बृहत् निःशुल्क स्वास्थ्य शिविर एवं सचेतनात्मक कार्यक्रमबाट २७६ जनाले स्वास्थ्य सेवा पाएका छन् ।

दुईदिने स्वास्थ्य शिविरमा महिला तथा स्त्रीरोग, हाडजोर्नी, दन्तरोग र आँखाको समस्यासम्बन्धी सम्पूर्ण समस्याको विशेषज्ञद्वारा पहिचान, उपचार तथा परामर्श र साथ साथै अन्य सामान्य स्वास्थ्य सेवा र भिडियो एक्स–रे सेवा प्रदान गरिएको दोलखा अस्पताल सामुदायिक स्वास्थ्य सहयोग कार्यक्रमका जनस्वास्थ्य अधिकृत रमेश श्रेष्ठले जानकारी दिनुभयो  । बाँकी ४९ जनाको स्वास्थ्य परीक्षण मात्र गरिएको हो । 

उहाँका अनुसार महिला लक्षित सामुदायिक स्वास्थ्य सहयोग कार्यक्रम अन्तर्गतको यो शिविरबाट १३ जनामा स्त्री तथा महिला रोग, १५१ जनामा दाँतमा समस्या, ६३ जनामा दम, हाडजोर्नी र आँखासम्बन्धी समस्या पहिचान गरेर अस्पताल प्रेषण गरिएको छ । स्त्रीरोग र आँखा रोगका बिरामीको शिविर भएका बखत न्यून शुल्कमा उपचार गरिने लक्ष्य छ । 

शिविरमा दोलखा अस्पतालको डा. सुजन तिम्सिनाले दन्त सेवा, डा. नवराज आचार्यले हाडजोर्नी, डा. विनीता सन्जेलले महिला तथा स्त्रीरोग , डा. तोयन्द्रजङ्ग शाह र डा. सौरव कटुवालले सामान्य उपचार तथा परामर्श प्रदान गर्नुभएको थियो । यो दुईदिने स्वास्थ्य शिविर सफल बनाउन व्यवस्थापन दोलखा अस्पतालका जीवन कँडेल, रोजिता केसी, अल्का शिवाकोटी र जनस्वास्थ्य अधिकृत शीर्षक शाही र रमेश श्रेष्ठ तथा कालिन्चोक गाउँपालिकाको स्वास्थ्य संयोजक धीरेन्द्र चौधरीले गर्नुभएको थियो ।

यस किसिमको कार्यक्रम कालिन्चोक गाउँपालिकाको अन्य ठाउँमा पनि आगामी दिनमा संयुक्त साझेदारीमा सञ्चालन गरिने वडाध्यक्ष सूर्यबहादुर आचार्य, प्रमुख प्रशासकीय अधिकृत नवराज ओली र दोलखा अस्पतालका चिकित्सक प्रमुख डा. शैलेश श्रेष्ठले जानकारी दिनुभयो ।