• १६ चैत २०८०, शुक्रबार

सीमा क्षेत्रमा बाघको त्रास

blog

धनगढी समाचारदाता

धनगढी, चैत २६ गते । कञ्चनपुरको दक्षिणी क्षेत्र पुनर्बास, बेलौरी नगरपालिकाको नेपाल–भारत सीमा क्षेत्रमा बाघको त्रास बढेको छ। सीमा आसपासको विभिन्न स्थानमा बाघ देखा परेको स्थानीयले बताएका छन्। 

पुनर्बासकी एक महिलाको ज्यान लिएपछि स्थानीयमा त्रास बढेको छ। पुनर्बास नगरपालिका–११ का वडाध्यक्ष तुलसी अर्यालका अनुसार सीमा क्षेत्रका खेतमा बाघ आउने, कराउने गर्न थालेकाले स्थानीय निकै त्रसित भएका छन्। 

चैत १० गते भारतको दुधुवा नेसनल पार्क क्षेत्रमा पुनर्बास नगरपालिका–१०, मदन टोलकी कलसा सार्कीको बाघले ज्यान लिएको थियो। त्यसको केही दिनपछि मात्रै कञ्चनपुरको बेलौरी नगरपालिका–१ नजिक सीमावर्ती भारतीय गाउँ कृष्णनगरकी एक महिलाको पनि बाघले ज्यान लिएको बताइन्छ। नरभक्षी बाघले १० दिनभित्र दुई जनाको ज्यान लिएपछि सीमा क्षेत्रमा बाघको त्रास बढेको छ। बाघ दुधुवा नेसनल पार्क आसपासको नेपाली भू–भागमा देखिइरहेकाले दुधुवाकै बाघ रहेको हुनसक्ने वडाध्यक्ष अर्यालले बताउनुभयो। 

पछिल्लो समय बाघ पुनर्बास नगरपालिका–४, शहीद गौतम चोक–१०, भीमबस्ती, बसहिया, पिल्लर नम्बर २०२, २०३, २०४ क्षेत्र, सीमा क्षेत्र कृष्णनगर, खजुरिया, बेलौरी–कलकत्ता सडकमा देखिएको कुण्डा सबडिभिजन वन कार्यालय पच्कडियाका सहायक वन अधिकृत दिलीपकुमार यादवले बताउनुभएको छ। विभिन्न ठाउँमा बाघ देखा परिरहेकाले वन कार्यालयले सुरक्षित रहन सर्वसाधारणलाई सचेत पारेको छ।