• ६ वैशाख २०८१, बिहिबार

भाषाको सरलीकरण (सम्पादकीय)

blog

साधारण अर्थमा मानवबीच विचार, अनुभव र सन्देश सम्पे्रषण गर्ने मौखिक वा लिखित माध्यमलाई भाषा भन्न सकिन्छ । मानवशास्त्रीका अनुसार करिब १० हजार वर्षअघिसम्म भाषा प्रचलित थिएन तर मानिसबीच विचार, अनुभव र सन्देशको विनिमय भएकै थियो । भाषाको विकास हुँदै जाँदा साहित्यको जन्म हुन पुग्यो । भावलाई सुन्दरतम भाषाको माध्यमबाट अभिव्यक्त गर्नु साहित्य सिर्जना गर्नु भएकाले भाषा भन्नु साहित्य पनि हो । माझिएको भाषा साहित्यको माध्यम भएकाले भाषाको मझाइ आवश्यक हुन्छ । 

साहित्यमा कस्तो भाषा प्रयुक्त हुनुपर्छ ? यस्तो प्रश्न लामो समयदेखि उठ्दै आएको छ । एकाथरी छन् साहित्यको भाषा पनि दैनिक जीवनकै सरह हुनुपर्छ अर्थात् सरल हुनुपर्छ भन्नेहरू । अर्काथरी साहित्यको भाषा विशिष्ट प्रकारको हुनुपर्छ र हुन्छ भन्नेहरू छन् । यसै सन्दर्भमा क्लिष्ट भाषा भनेर कतिपय रचनाको मूल्याङ्कन गरिएको छ । भाषाको क्लिष्टता निरपेक्ष हुँदैन सापेक्ष हुन्छ । कसलाई कसरी लेख्न सहज हुन्छ, कसको लेखनस्तर कस्तो छ, कसको मूल भाषाबाहेक अन्य भाषामा कति दखल छ र लेख्दा आफूलाई भाषागत रूपमा कति लचक राख्छ भन्ने अर्थमा भाषा कति क्लिष्ट छ भनेर परिभाषित गर्नुपर्छ ।

महाकवि देवकोटाको भाषा कवि शिरोमणि पौड्याललाई क्लिष्ट लाग्दैनथ्यो होला । तसर्थ साहित्यको भाषालाई क्लिष्ट र जनस्तरीय भनेर वर्ग विभाजन गर्नु वैज्ञानिक हुँदैन तर भाषा विस्तार र वक्ता वृद्धिका लागि यसलाई सरल बनाउनुपर्छ । पाठक हेरेर साहित्य लेखिँदैन तर वक्ता हेरेर भाषालाई सरल गराउनुपर्छ । त्यसमा पनि उद्देश्य र औचित्यका आधारमा भाषालाई सामान्य, प्रारम्भिक र प्राज्ञिक स्तरबाट शिक्षण गरियो भने यसैअनुसार यसका उपभोक्ता वृद्धि हुन्छन् । भाषा उपभोक्तका दृष्टिले सङ्ख्यात्मक र गुणात्मक तहमा फैलन्छ ।      

भाषा राजनीति पनि हो । भाषाका लागि आन्दोलन भएका छन् । युद्ध छेडिएको छ । भाषा संस्कृति पनि हो । संस्कृति भएकाले भाषामा परिवर्तन हुन्छ किनभने मानिसको आवश्यकतामा संस्कृतिको निर्माण हुन्छ, परिमार्जन हुन्छ र संशोधन हुन्छ भन्नेमा मानवशास्त्रीहरू सहमत छन् । यसैले लेख्य भाषाको शैली तथा प्रयोगमा विविधता आउँछ । यो व्यक्तिको क्षमतामा निर्भर रहन्छ । भाषा पहिचान पनि हो । यसबाट समाज र संस्कृतिका विम्ब खिच्न सकिन्छ । झन्डै १२३ भाषा रहेको नेपालमा धेरै भाषा जान्ने व्यक्तिले अन्य भाषाका संस्कृतिक विम्बमा साहित्य सिर्जना गर्न सक्छ र पाठकमा सामीप्यता राख्न सक्छ । यसरी साहित्य समृद्ध हुन्छ । 

नेपालमा भाषा नीति छैन । संस्कृति नीतिमा यसलाई केही हदसम्म समेटिएको छ । साहित्य स्वयं संस्कृति भए पनि संस्कृति नीतिले भाषा, साहित्य, कलालाई समयानुकूल समेटेको छैन । भाषा तथा साहित्य÷वाङ्मयको श्रीवृद्धिमा समयानुकूल नीति, स्रोत, योजना परिचालन गर्नु आवश्यक छ ।