• १३ वैशाख २०८१, बिहिबार

रास्वपालाई जनताको प्यारो बनाउँछौँ

blog

तनहुँ समाचारदाता 

तनहुँ, चैत २६ गते । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले राष्ट्रिय स्वतन्त्र पार्टीलाई जनताको सबैभन्दा प्यारो पार्टी बनाउने बताउनुभएको छ। शनिबार तनहुँको आँबुखैरेनीमा सभालाई सम्बोधन गर्दै लामिछानेले छोटो समयमा नै जनताले विश्वास गरेर मलजल गरेर ठूलो पार्टी बनाएको र आगामी चुनावसम्ममा सबैभन्दा ठूलो बनाउने विश्वास व्यक्त गर्नुभयो।

लामिछानेले भन्नुभयो, “देश बदल्ने सपना पूरा गर्न जनताको सबैभन्दा प्यारो पार्टी बनाउँछौँ, हाल प्रतिनिधि सभामा १९ वटा बिरुवा छन्, उपनिर्वाचनमा बिरुवा थप हुन्छ।” पुराना र वर्षौंदेखि भोट हालेको पार्टी नेताले देश बदल्न नसकेकोले जनताको भरोसाको पार्टी रास्वपा भएको उहाँको भनाइ थियो। उर्वर भूमि भएकोले अन्नका लागि अरू देशको भर नपर्नुपर्ने गरी पार्टीले योजना बनाएको उहाँले बताउनुभयो। भ्रमको खेती गरेर रास्वपाका उम्मेदवारलाई हिलो छाप्ने गरिएको लामिछानेले बताउनुभयो। जनताको माया, विश्वास र भरोसा बढेकाले उपनिर्वाचनमा रास्वपाका उम्मेदवारले चुनाव जित्ने दाबी लामिछानेको थियो। तनहुँ–१ को उपनिर्वाचनका प्रतिनिधि सभा सदस्यका उम्मेदवार डा. स्वर्णिम वाग्लेले चुनाव जिते तनहुँवासीले गर्व गर्न लायक काम गर्ने बताउनुभयो । 

चुनावी प्रतिस्पर्धामा उत्रिरहँदा आफू संस्कारयुक्त राजनीति गर्ने र कसैलाइ गाली गरेर होइन सम्मान गरेर सँगै प्रतिस्पर्धा गर्ने वाग्लेले बताउनुभयो। तनहुँ–१ मा वैशाख १० गते प्रतिनिधि सभा सदस्यमा उपनिर्वाचन हुँदै छ। प्रतिनिधि सभा सदस्य निर्वाचित रामचन्द्र पौडेल राष्ट्रपति बनेपछि तनहुँमा उपनिर्वाचन हुन लागेको हो। उपनिर्वाचनलाई केन्द्रित गरी रास्वपाले चुनावी सभा गरेको थियो।