• ८ वैशाख २०८१, शनिबार

अज्ञात रोगले बाइस बाख्रा मरे

blog

स्याङ्जा समाचारदाता 

स्याङ्जा, चैत २६ गते । पुतलीबजार नगरपालिका–१३, ज्यामिरेमा अज्ञात रोगले एकै खोरका २२ बाख्रा मरेका छन्। स्थानीय शेषकान्त सुवेदीको आँधीखोला बाख्रा फार्मका बाख्रा पछिल्लो चार दिनमा मरेका हुन्। 

पहिलो दिनमा पाँचवटा बाख्रा मरेपछि घाँसका कारण मरेको सोचिए पनि दोस्रो दिन नौ, तेस्रो दिन सात र चौथो दिनमा एउटा बाख्रा मरेपछि रोगले मरेको आशङ्का गरिएको हो। बाख्रा मरेपछि ल्याब टेस्टका लागि नमुना सङ्कलन गरेर परीक्षणका लागि पठाइएको छ। एक/दुई दिनमा के कारणले मरेका हुन् थाहा हुने पशु तथा भेटेरिनरी अस्पताल स्याङ्जाका प्रमुख इन्द्र भट्टले बताउनुभयो। 

अस्ट्रेलियाबाट ल्याएका ८७ प्रतिशत बोयर बोका र बोयर बाख्राबाट जन्मेका धेरै बोका र बाख्रा मरेको कृषक सुवेदीले बताउनुभयो। बोयर बाख्राको जिल्लाको नमुना फार्म नै बनाउने अभियानसहित पाँच लाखमा दुईवटा बाख्रा उहाँले अस्ट्रेलियाबाट ल्याएको उल्लेख गर्नुभयो। सुवेदीले अस्ट्रेलियाबाट ल्याएका बोका नै मरेपछि नमुना फार्म बनाउने सपना अधुरो भएको बताउनुभयो। उहाँले आफ्नो क्षतिको क्षतिपूर्ति माग गर्नुभएको छ।