• १२ वैशाख २०८१, बुधबार

पूर्ण छात्रवृत्ति पाए पनि तनावमा महादेव

blog

एमबीबीएसमा पूर्ण छात्रवृत्ति पाउनुभएका महादेव पासवान ।

महोत्तरी समाचारदाता

महोत्तरी, चैत २६ गते । जलेश्वर नगरपालिका वडा नम्बर २ का महादेव पासवान एमबीबीएस अध्ययनमा ‘फुल स्कलरसिप’ (पूर्ण छात्रवृत्ति) पाए पनि तनावमा देखिनुभएको छ। किताब–कापीलगायतका अन्य सामग्री सापटी मागेर भए पनि मेहनत गरेका कारणले मेडिकल शिक्षाको प्रवेश परीक्षा उत्तीर्ण भएर चिकित्सा शिक्षा अध्ययनको बाटो खुलेको जानकारी दिँदै पासवानले घरको आर्थिक अवस्थाले गर्दा अझै धेरै समस्या बाँकी रहेकाले मानसिक तनावमा रहेको बताउनुभयो।

कर्णाली एकेडेमी अफ हेल्थ साइन्स जुम्लामा चैत ३० गतेभित्र भर्ना भइसक्नुपर्ने भए पनि त्यहाँ जाने खर्चसमेत परिवारलाई जुटाउन सकस रहेको बताउँदै पासवानले भन्नुभयो, “पूर्ण छात्रवृत्ति भए पनि किताब, कापी, खाने र बस्ने खर्च जुटाउनसमेत घरपरिवारलाई धौ–धौ छ, यस्तोमा कसरी खुसी मनाउनु ?” चिकित्सा शिक्षा आयोगले लिएको परीक्षामा ८६.५ प्रतिशत अङ्कका साथ पूर्ण छात्रवृत्ति पाएका पासवानलाई जलेश्वर नगरपालिकाका प्रमुख सुरेश साह सोनारसहितका केही व्यक्तिले सामाजिक सञ्जालमार्फत बधाई दिए पनि सहयोगका लागि कुनै पहल नगरेको उहाँको गुनासो छ।

पासवानका बुवा विकरु पासवान नेकपा (माओवादी केन्द्र)को जिल्ला कमिटीमा रहेर राजनीति तथा समाजसेवा गर्दै आउनुभएको छ। तीन सन्तानमध्ये माइला छोरा पासवानले ल्याएको खुसीको सराहना गर्दै विकरु पासवानले सबैको सहयोग र साथ पाए छोराले पनि चिकित्सक भएर सेवा गर्ने बताउनुभयो। आफूसँग कुनै नियमित कमाइको साधन नभएको र छोराको पढाइको खर्च धान्न सक्ने अवस्था पनि नरहेका कारण चिन्तित देखिनुभएका उहाँले भन्नुभयो, “स्थानीय तहका पदाधिकारीहरूले पहल गर्ने हो भने छोरा चिकित्सक बन्न सक्ने देखेको छु, तर अहिलेसम्म कसैले पनि आश्वासन दिनुभएको छैन।” जलेश्वर नपाका युवा मुकेश पासवानले दलित समुदायबाट चिकित्सक कमै भएको तर सानैदेखि मेहनती र परिश्रमी स्वभावका महादेवलाई सहयोग गर्न सबैलाई आग्रह गर्नुभयो। उहाँले दलित समुदायका महादेवलाई अध्ययनमा सहयोग गरेर दलित समुदायलाई अगाडि बढाउन सबैसँग आग्रह गर्नुभयो।

आर्थिक अवस्था कमजोर भएकै कारण जलेश्वरमा रहेको लक्ष्मीचण्डी मुरारका माध्यमिक विद्यालयका प्रधानाध्यापक सञ्जीव झाले पासवानलाई आफ्नो जिम्मेवारीमा राजर्षि जनक क्याम्पस जनकपुरधाममा अध्ययन गराउनुभएको थियो। आफूले पढाएको शिष्य एमबीबीएसमा नाम निकालेकोमा खुसी व्यक्त गर्दै उहाँले मेहनती र परिश्रमी विद्यार्थीलाई अध्ययनबाट वञ्चित हुन नदिन सबैलाई सहयोग गर्न आग्रह गर्नुभयो। आफ्नो काकाको मुटुको भल्बमा देखिएको समस्याका कारण मृत्यु देखेका महादेवले सोही समयदेखि नै आफू कार्डियोलोजिस्ट चिकित्सक बनेर यस क्षेत्रका जनताको सेवा गर्ने सपना बुनेको बताउँदै सपनालाई साकारमा सहयोग गर्न आग्रह गर्नुभयो।