• १२ वैशाख २०८१, बुधबार

लुम्बिनीमा तीन महिनामा भित्रिए नब्बे हजार विदेशी पर्यटक

blog

भैरहवा समाचारदाता

भैरहवा, चैत २६ गते । कोभिड महामारीका बेला खस्किएको लुम्बिनीको पर्यटन क्षेत्र बिस्तारै लयमा आउन थालेका छन् । पछिल्लो तीन महिनामा लुम्बिनीमा करिब ९० हजार पर्यटक भित्रिएका छन् । यद्यपि लुम्बिनी आएका पर्यटक भने बस्दै नबसी फर्कने क्रम रोकिएको छैन । बुद्ध जन्मस्थल लुम्बिनीमा अहिले तेस्रो मुलुकका पर्यटकको चहलपहल बढेको छ ।

लुम्बिनी विकास कोषले दिएको जानकारीअनुसार जनवरी सुरु भएयता ६१ हजार १२२ भारतीय पर्यटकले लुम्बिनी भ्रमण गरेका छन् । नेपाल र भारतबाहेक तेस्रो मुलुकबाट मात्र २८ हजार ८०६ जनाले लुम्बिनी भ्रमण गरेका छन् । यो सङ्ख्या अघिल्लो वर्षभरिका कुल विदेशी पर्यटकभन्दा पाँच हजार बढी हो । 

सन् २०२२ मा २३ हजार ९४२ तेस्रो मुलुकका पर्यटक लुम्बिनी आएका थिए । जनवरी महिनामा तेस्रो मुलुकबाट तीन हजार ९८७ पर्यटक लुम्बिनी आएका थिए । फेब्रुअरीमा १२ हजार ५२२ र मार्चमा १२ हजार २९७ विदेशी पर्यटक आएको लुम्बिनी विकास कोषले जनाएको छ । 

अहिले सबैभन्दा बढी थाइल्यान्डबाट सात हजार ७६० पर्यटक आएका छन् । श्रीलङ्काका पाँच हजार १५८, म्यान्मारका चार हजार ३४२, भियतनामबाट दुई हजार ९११ र दक्षिण कोरियाका दुई हजार ८८५ जनाले लुम्बिनी भ्रमण गरेका छन् । चिनियाँ पर्यटकको सङ्ख्या भने बढ्न सकेको छैन । यस अवधिमा चीनबाट ३६९ जना पर्यटक मात्रै नेपाल आएका छन् ।

लुम्बिनी विकास कोषका सदस्य सचिव सानुराजा शाक्यले कोषले हालै गरेको केही कार्यक्रमले पनि विदेशी पर्यटकको आगमन बढेको बताउनुभयो । “कोरियन र थाई पर्यटकलाई केन्द्रित गरेर कार्यक्रम गरेका थियौँ । यसले पनि पर्यटकहो सङ्ख्या बढेको छ,” उहाँले भन्नुभयो, “आगामी दिनमा पर्यटकको सङ्ख्या अझै बढ्ने सङ्केत देखिएको छ ।”

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल तयार भए पनि पूर्ण रूपमा सञ्चालनमा आउन सकेको छैन । कुवेतको जजिरा एयरले सातामा तीन पटक उडान गरेको छ । अरू उडान पनि थपेर अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण रूपमा सञ्चालनमा आउने हो भने लुम्बिनीमा खर्च गर्ने खालका गुणस्तरीय पर्यटक आउने भैरहवाका पर्यटन व्यवसायी तथा सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर (सोटो)का लुम्बिनी प्रदेश अध्यक्ष सञ्जय बजिमयले बताउनुभयो ।