• १६ चैत २०८०, शुक्रबार

धुर्कोट र भरतपुरबिच भगिनी सम्बन्ध

blog

रमेश विश्वकर्मा 

गुल्मी, चैत २६ गते । गुल्मीको धुर्कोट गाउँपालिका र चितवनको भरतपुर महानरपालिका बिच भगिनी सम्बन्ध स्थापना भएको छ । शनिवार धुर्कोट गाउँपालिकाको कार्यालयमा गाउँपालिका अध्यक्ष भूपाल पोखरेल र महानगरपालिकाका प्रमुख रेणु दाहालले समझदारी पत्रमा हस्ताक्षर गर्नुभएको छ । 

गाउँपालिका तथा नगरपालिकाले आफ्नो कार्य सञ्चालन गर्दा लागत न्यूनीकरण, स्रोत साधनको अधिकतम उपयोग वा प्रभावकारी सेवा प्रवाहको लागि स्थानीय सरकार सञ्चालन ऐन २०७४, को परिच्छेद ६, दफा २६ को (ट) अनुसार भगिनी सम्बन्ध स्थापना गर्ने व्यवस्था छ । 

जसमा शिक्षा, स्वास्थ्य, कृषि तथा पर्यटन, दमकल, एम्बुलेन्स, बस्ती विकास, पर्यटन, प्रविधि, संस्कृति, संयुक्त उद्यम, बजार व्यवस्थापन, भौतिक तथा आर्थिक सहयोग लगायतका अन्य विविध असल अभ्यास अनुभव आदान–प्रदान गर्ने भनिएको छ । 

यसभन्दा अगाडी भरतपुर महानगरपालिकाले जापान र चीनको पालिका एवम् नेपालमा गुल्मीको रुरु क्षेत्र गाउँपालिकासँग भगिनी सम्बन्ध स्थापना थियो । धुर्कोट गाउँपालिकाले बागलुङको तारा खोला र तनहुँको बन्दिपुर गाउँपालिकासँग भगिनी सम्बन्ध स्थापना गरेको थियो ।

त्यस अवसरमा भरतपुर महानरपालिका प्रमुख दाहालले आफूहरूको मुख्य ध्यान आर्थिक विकास गर्नु भएको बताउनुभयो । हामीले सङ्घीयताको मर्म बुझेका दुवै पालिकाहरूबिच भगिनी सम्बन्ध स्थापना गर्दा सङ्घीयता कार्यान्वयनमा मद्दत पुग्ने बताउनुभयो । धुर्कोट गाउँपालिका अध्यक्ष भूपाल पोखरेलले आफूहरूले धुर्कोटको विकासको लागि आफूहरूले भरतपुरबाट विकासका काममा सहयोगको अपेक्षा गरेको भन्दै भगिनी सम्बन्धलाई निरन्तरता दिने बताउनुभयो ।