• १३ वैशाख २०८१, बिहिबार

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, सुधार खाका पेस गर्न निर्देशन

blog

काठमाडौँ, चैत २६ गते । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको दीर्घकालीन सुधारका लागि १५ दिनभित्र पुनर्संरचना प्रस्ताव प्रस्तुत गर्न मातहतका कर्मचारीलाई निर्देशन दिनुभएको छ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको निरीक्षण तथा सरोकारवाला निकायसँगको छलफलमा उहाँले राष्ट्रिय सुरक्षा संवेदनशीलताको पाटोबाट विमानस्थल अत्यन्तै महत्वको ठाउँ भएकाले त्यसलाई कमजोर पार्ने कुनै पनि प्रवृत्ति र व्यवहारलाई छुट दिन नसकिने उल्लेख गर्नुभयो। विमानस्थल मुलुकको पहिचानसँग जोडिएकाले सुरक्षामा कुनै कमीकमजोरी हुन नदिन सम्बद्ध निकायलाई निर्देशन दिँदै उहाँले पर्यटक र श्रमका लागि बिदेसिने नागरिकलाई गरिने व्यवहारमा समेत सुधार ल्याउन निर्देशन दिनुभयो।

उहाँले भन्नुभयो, “विमानस्थलको सुरक्षा, सेवा र हेल्प डेस्कलाई प्रभावकारी बनाउन र विमानस्थलका सम्पूर्ण गतिविधि डिजिटलाइज गर्न जरुरी छ। विमानस्थलको तत्काल र दीर्घकालीन सुधारका लागि १५ दिनभित्र पुनः संरचना प्रस्ताव तयार पारेर अघि बढ्नुहोस्।”

विमानस्थलका सेवा प्रवाहको विषय वर्तमान सरकारको प्राथमिकता रहेको भन्दै उहाँले विमानस्थल प्रशासनका चालु गतिविधि र नयाँ योजनाका काम अघि बढाउन निर्देशन दिनुभयो। उपप्रधानमन्त्री श्रेष्ठले विदेशी पर्यटक र विदेशमा रोजगारी गर्न जाने नेपाली श्रमिक दुवैप्रति विमानस्थल प्रशासन अत्यन्त सहृदयी हुनुपर्ने बताउनुभयो। उहाँले पर्यटकको प्रवेशद्वार विमानस्थल संस्कृति र सभ्यताको द्वार हुनुपर्नेमा जोड दिनुभयो। 

उहाँले हरेक दिन नेपालबाट वैदेशिक रोजगारीका लागि बाहिरिने युवाले पठाएको रेमिट्यान्सबाट देशको अर्थतन्त्र धानिरहेको अवस्थामा वैदेशिक श्रमिकलाई हेप्ने, दुःख दिने, यात्रुको लगेज हराउने, फुटाउनेलगायतका विभिन्न झन्झट थोपर्ने काम नगर्न विमानस्थल कर्मचारीलाई निर्देशन दिनुभयो। 

गृह सचिव विनोदप्रकाश सिंह र अध्यागमन विभागका महानिर्देशक झलकराम अधिकारीसहित अनुगमनमा पुग्नुभएका उपप्रधानमन्त्री श्रेष्ठलाई अध्यागमन कार्यालयका प्रमुख अध्यागमन अधिकृत रामबाबु सुवेदी, नागरिक उड्डयन कार्यालयका महाप्रबन्धक प्रमुख प्रतापबाबु तिवारी एवं सुरक्षा निकायका अधिकारीले विमानस्थल प्रशासनका चालु गतिविधि र नयाँ योजनाको आवश्यकताबारे जानकारी गराउनुभएको थियो।