• ७ वैशाख २०८१, शुक्रबार

शैक्षिक प्रतिष्ठान बन्दै भरतपुर अस्पताल

blog

वसन्त पराजुली

भरतपुर, चैत २६ गते । भरतपुर अस्पतालमा बिरामीको चाप बढिरहेको छ। बिरामीको बढ्दो चापलाई थेग्न जनशक्ति र पूर्वाधार भने पर्याप्त नरहेको बताइएको छ। 

आर्थिक वर्ष २०७८/७९ मा भरतपुर अस्पतालमा दुई लाख ८० हजार ५११ जना बिरामीको उपचार भएको तथ्याङ्क सार्वजनिक गरिएको छ। भरतपुरमा शनिबार आयोजित अस्पतालको वार्षिकोत्सवका अवसरमा सार्वजनिक गरिएको तथ्याङ्कअनुसार सो आर्थिक वर्षमा अस्पतालको ओपीडीमा दुई लाख ५२ हजार ८९४ र आकस्मिक तर्फबाट २७ हजार ६१७ बिरामीको उपचार भएको हो। सो अस्पतालमा आव २०७७/७८ मा एक लाख ७१ हजार १३ र २०७६/७७ मा दुई लाख ५२ हजार ६९ जना बिरामीले उपचार गराएका छन्। 

भरतपुर अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. कृष्णप्रसाद पौडेलले अस्पतालको विद्यमान जनशक्ति र अस्पतालको स्रोतसाधनका आधारमा बिरामीको यो चाप थेगिनसक्नु भएको बताउनुभयो। “बिरामीको बढ्दो चाप थेग्न एक हजार ८७ स्वास्थ्यकर्मी र कर्मचारी आवश्यक रहेको एक अध्ययनले देखाएको छ तर अहिले हाम्रो अस्पतालमा नौ सय मात्रै कर्मचारी छन्, त्यसमा पनि सरकारी दरबन्दीका न्यून छन्,” डा. पौडेलले भन्नुभयो। 

अस्पतालले आफ्नो ६७औँ वार्षिकोत्सव मनाउँदै गर्दा पनि अस्पतालको सेवासुविधामा जोड दिनुपर्ने आवाज उठेका छन्। देशकै मध्य भागमा रहेको यो अस्पतालमा चितवन र यस आसपासका क्षेत्रबाट बिरामी आउने गर्छन्। 

अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. कृष्णप्रसाद पौडेलले बढ्दो जनसङ्ख्या र बिरामी चापलाई ध्यानमा राखेर अस्पतालको जनशक्ति र भौतिक संरचना सुधार गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो। “हामी देशकै उत्कृष्ट स्वास्थ्य सेवा दिन सक्षम छाैँ। आवश्यकताअनुसार थप विशिष्ट सेवा पनि बढाउँदै लगेका छौँ तर अहिले हामीलाई सबैभन्दा बढी चुनौती जनशक्तिको छ,” उहाँले भन्नुभयो। 

अस्पताल विकास समितिका अध्यक्ष राजु पौडेलले अस्पताललाई अब शैक्षिक प्रतिष्ठानका रूपमा अगाडि बढाउन थालिएको जानकारी दिनुभयो। “बढ्दो बिरामीको चाप थेग्न पनि हामीले यस अस्पताललाई शैक्षिक केन्द्रका रूपमा अगाडि बढाउन जरुरी ठानेका छौँ,” उहाँले भन्नुभयो। 

नेपाल सरकारका तर्फबाट शैक्षिक प्रतिष्ठान सञ्चालनका लागि भरतपुर अस्पतालले अनुमति पाइसकेको र अब ऐन–नियम बनाएर छिटोभन्दा छिटो शैक्षिक प्रतिष्ठान सञ्चालन गर्ने तयारीमा रहेको उहाँले जानकारी दिनुभयो। चैत १० गते बसेको मन्त्रीपरिषद् बैठकले अस्पतालको सेवा र गुणस्तर वृद्धि गर्न र शैक्षिक गतिविधि बढाउन शैक्षिक प्रतिष्ठान सञ्चालन गर्ने निर्णय गरेको थियो। 

वार्षिकोत्सवका अवसरमा शनिबार आयोजित कार्यक्रममा प्रमुख अतिथि स्वास्थ्य मन्त्रालयका सचिव डा. रोशन पोख्रेलले विभिन्न क्षेत्रमा उत्कृष्ट सेवा दिने कर्मचारी, पूूर्वव्यवस्थापन समितिका पदाधिकारी तथा सदस्यलगायतलाई सम्मान गरिएको थियो। 

वि.सं. २०१३ चैत २५ गते ‘हेल्थपोस्ट’का नाममा स्थापना भएको यो अस्पताल अहिले छ सय शय्या सञ्चालनमा रहेको छ।