• १६ चैत २०८०, शुक्रबार

नेपाललाई हराउँदै भियतनाम दोस्रो चरणमा

blog

नेपालविरुद्ध गोल गरेपछि खुसी मनाउँदै भियतनामका खेलाडी । तस्बिर : एन्फा

काठमाडौं, चैत २५ गते । नेपाललाई दुवै खेलमा हराउँदै भियतनाम पेरिस ओलम्पिक-२०२४ को महिला फुटबल अन्तर्गत एसिया छनोटको दोस्रो चरणमा प्रवेश गरेको छ ।

दशरथ रंगशालामा शनिबार भएको समूह ‘सी’को दोस्रो खेलमा भियतनामले नेपाललाई २–० गोलले हरायो । यसअघि पहिलो खेलमा भियतनामले नेपाललाई ५–१ गोलले पराजित गरेको थियो ।


दुवै गोल पहिलो हाफमा सम्भव भएको खेलमा भियतनामका लागि फाम हाइ यनले दुई गोल गर्नुभयो । उहाँले छैटौं र सातौं मिनेटमा गरेको गोल टोलीको जितमा प्रयाप्त बन्यो ।

दोस्रो हाफमा सुधारिएको खेल प्रदर्शन गरेपनि नेपालले गोल फर्काउन सकेन । यसअघि पहिलो खेलमा नेपालका लागि सावित्रा भण्डारीले एक गोल फर्काउनुभएको थियो । दोस्रो खेलमा पनि सावित्राको केही प्रयासमा भियतनामाकी गोलरक्षक खोङ थि हाङ बाधक बन्नुभयो ।


समूह ‘सी’ को छनोटमा यसअघि समूहमा रहेका प्यालेस्टाइन र अफगानिस्तानले अन्तिममा नाम फिर्ता लिएपछि नेपाल र भियतनामबीच प्रतिस्पर्धा भएको हो ।

लगातार दुई हारसँगै नेपालको ओलम्पिक छनोट यात्रा घरेलु मैदानमै सकिएको छ । नेपालले बलियो भियतनामसँग पहिलो पटक खेलेको हो ।