• १३ वैशाख २०८१, बिहिबार

कर्णाली कोरिडोरको तिथिमा मालबहाक ट्रक दुर्घटना

blog

तीथिमा सडकबाट दुर्घटना भएको ट्रक । तस्बिर : राजन रावत

राजन रावत
हुम्ला, चैत २५ गते । 
कर्णाली कोरिडोरको बाजुरा जिल्लाको तिथि चौरमा धनगढीबाट हुम्लाको सलीसल्लातर्फ शनिबार बिहान आउँदै गरेको मालबहाक ट्रक दुर्घटना भएको छ । उकालो सडकमा गुडी रहेको ट्रक एक्कासि ब्रेक फेल भएपछि ब्याक भएर सडकबाट पाँच मिटर तल खसेको हो ।

ट्रक चालक रवीन्द्र खड्काले कर्णाली कोरिडोरको बाजुरा खण्डको हिमाली गाउँपालिका–४ को तिथि चौरको उकालो सडकमा गुडी रहेको ट्रक एक्कासि ब्रेकफ्रेल हुँदा ब्याक भएर सडकबाट तल पल्टिएको बताउनुभयो । सो ट्रकले खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको धनगढीबाट पैदल मार्गबाट ढुवानी भएर आउनु पर्ने खाद्यान्न ओसारी रहेको थियो ।

ट्रकमा ८८ क्विन्टल लिमिटेडको ढुवानी अनुदानको खाद्यान्न लोड गरिएको थियो । दुर्घटना भएको सु.प.प्र०१ ००१ख २४९४ नम्बरको ट्रकमा चालक खड्का मात्रै हुनुहुन्थ्यो ।

ट्रक सडक निर्माणका क्रममा निस्केको ठूलो चट्टान अड्किएको छ ।  चट्टान नभएको भए ट्रक कर्णाली नदीमा खस्ने अवस्था रहेको चालक खड्का बताउनुहुन्छ । दुर्घटना भएको करिब डेढ घण्टापछि चालक सकुशल ट्रकबाट बाहिर निस्कन सफल हुनुभएको थियो ।

दुर्घटना भएको ट्रकबाट खाद्यान्न निकालेर अर्को ट्रकमा लोड गरिएको छ । सो खाद्यान्न हुम्ला जिल्लाको सलिसल्लासम्म ढुवानी हुनेछ ।