• ७ वैशाख २०८१, शुक्रबार

आत्मनिर्भर हुँदै फरक क्षमता भएका अशोक

blog

धनुषाको गोदारस्थित पेट्रोलपम्पमा काम गर्नुहुँदै अपाङ्ग अशोक ठाकुर । तस्बिरः विजयकुमार साह

विजयकुमार साह 

ढल्केबर, चैत २५ गते । धनुषाको धनुषाधाम नगरपालिका–४ सर्साका ४१ वर्षीय अशोक ठाकुर गरिब परिवारमा जन्मिएका एक फरक क्षमता भएका (अपाङ्गता) व्यक्ति हुनुहुन्छ । प्रायः अपाङ्गता भएका व्यक्ति अरूको सहरामा बाँच्ने गरेको भए पनि उहाँ आत्मसम्मानका साथ जिउन दैनिक १२ घण्टा एक पेट्रोल पम्ममा काम गर्नुहुन्छ । 

ठाकुर धनुषाको गोदारस्थित न्यू कमला आयल निगममा मासिक १२ हजार रुपियाँ तलब पाउने गरी सवारीमा पेट्रोलियम पदार्थ भर्ने काम गर्नुहुन्छ । अहिलेको महँगो जमानामा १२ हजार रुपियाँले परिवार पाल्न कठिनाइ भए पनि कसैको अगाडि हात फैलाउनुको सट्टा मेहनतको कमाइ खान पाउँदा सन्तुष्टि मिलेको उहाँ बताउनुहुन्छ । 

उहाँ भन्नुहुन्छ, ‘बाल्यकालमै प्यारालाइसिस रोग लागेर बायाँ खुट्टा सुकेर चल्न छोड्यो । खुट्टा सुकेर हिँड्न समस्या छ । त्यसैले लठ्ठीको सहारामा हिँड्छु । लठ्ठीकै भरमा काम गर्छु ।’ 

जन्मँदा सबै ठिकै थियो । दुई वर्षको उमेरमा प्यारालाइसिस भयो । विपन्न आमाबुवाले सकेजति उपचार गराउनुभयो । तर, ठिक भएन र बायाँ खुट्टा सुक्यो, अशोकले सुनाउनुभयो । 

श्रीमती, एक छोरी र दुई छोराका पिता ठाकुर पेट्रोल पम्पमा काम गर्नुअघि गाउँघरमै कृषि मजदुरी गर्नुहुन्थ्यो । कृषि मजदुरी बापत दिनको चार–पाँच किलो धान ज्यालामा पाउनुहुन्थ्यो । त्यो ज्यालाले पाँच जना परिवारको जीविकोपार्जनमा समस्या भएपछि पेट्रोल पम्पमा काम गर्न थालेको बताउनुहुन्छ । 

आफ्नो तीन वटै सन्तानलाई विद्यालय पढाउने गरेको बताउँदै ठाकुरले भन्नुभयो, ‘ज्यानले सकेजति मेहेनत गरेर खान्छु, अपाङ्ग खुट्टालाई हात फैलाउने आधार बनाउँदिन । आफूजस्तै तथा सामान्य अपाङ्गता भएका व्यक्ति अपाङ्ग अङ्ग देखाएर दस ठाउँ हात फैलाउँदै हिँड्छन् । त्यो नराम्रो काम हो ।’ 

सकेजति मेहेनत गरेर खानुपर्छ । सरकारले पनि अपाङ्गतालाई सीपमूलक तालिम प्रदान तथा आर्थिक सहयोग गरेर स्वरोजगार बनाउनु पर्ने अशोकको कथन छ । तर नेपाल सरकारले अपाङ्गताका लागि उपलब्ध गराउने सेवा सुविधाबाट आफू वञ्चित रहेको भन्दै गुनासो गर्नुभयो ।

आफ्नो एउटा खुट्टा पुरै नचल्ने भए पनि आफ्नो घर बसोबास रहेको धनुषाधाम नगरपालिकाले ‘ग’ श्रेणीको अपाङ्गता परिचयपत्र बनाइदिएकाले सेवा सुविधाबाट वञ्चित रहेको अशोकले बताउनुभयो । 

स्थानीय समाजसेवी युवा गोविन्द यादव भन्नुहुन्छ, अशोक उदाहरणीय व्यक्ति हुनुहुन्छ । अपाङ्गता भएर पनि आफूले गर्न सक्ने काम गरेर आत्मनिर्भर बन्नुभएको छ । ठाकुर जस्तै धनुषाधाम नगरपालिकामा थुप्रै अपाङ्गता छन् । उहाँहरूमध्ये अधिकांश सामाजिक सुरक्षा भत्तामा भर पर्नुभएको छ ।

अपाङ्गताहरूलाई विभिन्न सीपमूलक तालिम प्रदान गरेर आत्मनिर्भर बनाउन सकियो भने अपाङ्गको नाममा प्रदान गरिने सामाजिक सुरक्षा भत्ताको व्यवस्थापन गर्नुपर्ने आवश्यक नै हुँदैन, समाजसेवी युवा यादवले भन्नुभयो ।

धनुषाधाम नगरपालिकामा शारीरिक अपाङ्गता भएका २८० जना छन् । जसमध्ये क र ख वर्गका अशक्त अपाङ्गतालाई सामाजिक सुरक्षा भत्तालगायत अन्य सुविधा प्रदान गरिँदै आएको महिला तथा  बालबालिका शाखाका प्रमुख शालिनी झाले बताउनुभयो ।

अपाङ्गतालाई ह्विलचियर, ओढ्ने न्यानो सिरक, क्षमता र मागअनुसार सीपमूलक तालिम प्रदान गरिँदै आएको उहाँले जानकारी दिनुभयो ।