• ८ वैशाख २०८१, शनिबार

सरकारसँग अवसर र चुनौती दुवै छ: उपप्रधानमन्त्री खड्का

blog

नेपाल प्रेस युनियन सुर्खेतले आयोजना गरेको पत्रकार सम्मेलनमा उपप्रधानमन्त्री तथा रक्षामन्त्री पुर्ण बहादुर खड्का ।

    

नविन सुबेदी

सुर्खेत, चैत २५ गते । उपप्रधानमन्त्री  तथा रक्षामन्त्री पूर्ण बहादुर खड्काले शान्ति प्रक्रियालाई पूर्णता दिन पुरानो गठबन्धन बनेको बताउनुभएको छ । शनिबार नेपाल प्रेस युनियन सुर्खेतले आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले सो कुरा बताउनुभएको हो ।

‘द्वन्द्वबाट पीडितको मुक्तिका लागि पनि यही प्राकृतिक गठबन्धन उपयुक्त रहेको उहाँले बताउनुभयो । सरकारसँग अवसर र चुनौती दुवै रहेको बताउँदै खड्काले अबको केही दिनमै सरकारले पूर्णता पाउने उल्लेख गर्नुभयो । 

नेपाली कांग्रेसका उपसभापति समेत रहनुभएको खड्काले अब कर्णालीको विकासका लागि केन्द्रबाट पर्याप्त बजेट पाउने समेत बताउनुभयो । कर्णाली कोरिडोरलाई पहिलो प्राथमिकता रहेको बताउँदै उहाँले एकैपटक काम सक्ने गरी सबैसँग छलफल भइरहेको बताउनुभयो । मुलुकको अर्थतन्त्र कमजोर बनिरहेको र कर्मचारीलाई तलब खुवाउन पनि ऋण लिनुपर्ने अवस्था आएको खड्काको भनाइ थियो । 

उहाँले जनताको शिर झुक्नेगरि आफूले काम नगर्ने बताउनुभयो । प्रदेश सरकारबारे खड्काले सातै प्रदेशमा वर्तमान गठबन्धनकै सरकार बन्ने र कर्णाली प्रदेश सरकारमा कांग्रेस छिटै सरकारमा जाने बताउनुभयो ।

चुनावको बेलमा कर्णालीमा आफू र प्रधानमन्त्री प्रचण्डले जनतामाझ गरेका बाचा र विश्वासलाई मर्न नदिने समेत प्रष्ट पार्नुभयो । मतदाता र यो माटोलाई दिएको वचन पूरा गर्ने आफू प्रतिबद्ध रहेको बताउनुभयो । उहाँले ठूलो परिवर्तनबाट देशमा शान्ति र संविधान बनेकाले स्थिरता र रक्षाका लागि बनेको गठबन्धन नभत्किने समेत बताउनुभयो ।