• ८ वैशाख २०८१, शनिबार

गजल

blog

जिन्दगी बन्ने आसमा कोही

अल्झिएको छ तासमा कोही ।


घिउ चिनीको मिठासमा कोही

दास बन्छन् बिलासमा कोही ।


साथ छोडेन पेटले कहिल्यै

रै’छ मेरो नि ! खासमा कोही ।


भेटिए खुब पलाँसका गुच्छा

भेट्न मन थ्यो सुवासमा कोही ।


मौन देखेर हेप्न के खोज्छौ ?

हुन्छ गोही–प्रयासमा कोही ।


चोट ठक्कर अझै दिने गर्नुस्

पुग्न सक्छन् निकासमा कोही ।


पानीले यत्ति बुझ्दिए हुन्थ्यो

तड्पिएको छ प्यासमा कोही ।