• १३ वैशाख २०८१, बिहिबार

बजेट लेख्ने टोली तयार

blog

काठमाडौँ, चैत २५ गते । अर्थ मन्त्रालयले आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट वक्तव्यको मस्यौदा तयार गर्ने समिति गठन गरेको छ । मन्त्रालयका सहसचिव भूपाल बरालको नेतृत्वमा सरकारले समिति गठन गरेको हो । 

मस्यौदा लेखन समितिमा मन्त्रालयकै सहसचिवहरू उत्तरकुमार खत्री, धनीराम शर्मा, आनन्द काफ्ले, बाबुराम सुवेदी र जनकराज शर्मा सदस्य हुनुहुन्छ । समितिलाई बजेट वक्तव्यसहित दुवै सदनमा पेस गरिने विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकताको मस्यौदा तयार गर्ने जिम्मेवारी तोकिएको छ । 

बजेट तयारी गर्नुपर्ने समयमै अर्थ मन्त्रालय नेतृत्वविहीन भए पनि बजेट निर्माणमा ढिलाइ भएको थियो । बजेटको मस्यौदामा काम भइरहेको हुनुपर्ने भए पनि मन्त्रालयले नेतृत्व पाएपछि ढिलै भए पनि लेखन समिति गठन भएको हो । बजेट लेखनमा ढिलाइ भएपछि मन्त्रालयले बजेट निर्माणको तालिका नै नयाँ बनाएर काम गरिरहेको छ । 

नयाँ तालिकाअनुसार आगामी वैशाख १० गतेसम्म राष्ट्रिय योजना आयोगमा बजेटको नीति र कार्यक्रममाथि छलफल गरिनेछ । चैत २१ गतेदेखि राजस्व परामर्श समितिले दिएका सुझावउपर निकायगत छलफल गरी प्रतिवेदन तयार हुनेछ । चैत २६ देखि वैशाख २० गतेसम्म मन्त्रालयहरूसँग बजेट, कार्यक्रम र खर्च शीर्षकमा छलफलको कार्यक्रम राखिएको छ । चैत २६ देखि वैशाख २५ गतेसम्म सरोकारवालासँग बजेट सुझाव सङ्कलन गर्ने समय तोकिएको छ । वैशाख २० गते सार्वजनिक संस्थानहरूको प्रगति विवरण अर्थात् पहेँलो किताब प्रकाशनमा लागि पे्रसमा पठाउने तयारी छ । वैशाख २१ गतेभित्र विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताको मस्यौदा तयार गर्ने वैशाख २५ गते संसद्का दुवै सदनमा पेस गर्ने मन्त्रालयको कार्यतालिका छ ।

मन्त्रालयका अनुसार वैशाख ३० गते आर्थिक सर्वेक्षण छपाइका लागि जानेछ । जेठ १ गते बजेट वक्तव्यको मस्यौदा तयार हुनेछ । जेठ ५ गते राजस्व परामर्श समितिको प्रतिवेदन अर्थमन्त्रीसमक्ष पेस हुनेछ । जेठ १० गते राष्ट्रपतिलाई बजेटबारे ब्रिफिङ गर्ने कार्यक्रम छ । जेठ १० गते नै खर्च र व्यय शीर्षकको अनुमानको किताब छपाइ हुनेछ । जेठ १३ गते बजेट वक्तव्य, आर्थिक र विनियोजन विधेयकलाई अन्तिम रूप दिने काम हुनेछ । 

बजेट घोषणाको अघिल्लो दिन अर्थात् जेठ १४ गते योजना आयोग र मन्त्रिपरिषद्मा ब्रिफिङ हुनेछ । त्यसपछि बजेटसम्बन्धी सबै विधेयक छपाइका लागि पे्रसमा पठाइनेछ । सोही दिन आर्थिक, सर्वेक्षण, संस्थान र मन्त्रालयगत प्रगति विवरण संसद्मा पेस हुनेछ । संविधानमा उल्लेख भएबमोजिम जेठ १५ गते सङ्घीय संसद्को दुवै सदनमा बजेट प्रस्तुत हुनेछ । 

राष्ट्रिय योजना आयोगले आगामी आर्थिक वर्षको बजेटका लागि १६ खर्ब ८८ अर्बको सीमा तय गरेको छ ।