• ७ वैशाख २०८१, शुक्रबार

नक्कली नोटसहित सर्लाहीबाट एक जना पक्राउ

blog

बरामद नक्कली नाेट ।

जनार्जन खत्री

सर्लाही, चैत २४ गते। प्रहरीले सर्लाहीको बरहथवाबाट नक्कली नोटसहित एक जनालाई पक्राउ गरेको छ। बरहथवा नगरपालिका –१७ कटानीबाट एक हजार दरको दुई लाख ६८ हजार रुपियाँ नक्कली नोटसहित एक जनालाई पक्राउ गरेको हो। अन्य केही व्यक्ति फरार रहेकाले पक्राउ परेका व्यक्तिको नाम भने गोप्य राखिएको छ। 

प्रहरीले २४ बण्डल नोट आकारका कागजसहित बीआर ३० एम ३८२५ र बीआर ३० ए ५९६८ नम्बरको दुई थान भारतीय मोटरसाइकल समेत बरामद गरेको छ। बरामद गरिएको नक्कली नोट, नोट बनाउन प्रयोग हुने कागज र मोटरसाइकल इलाका प्रहरी कार्यालय बरहथवामा राखी थप अनुसन्धान भइरहेको सर्लाहीका प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिनुभयो। 

सर्लाहीमा पछिल्लो समय नक्कली नोटको कारोबार र ओसारपसार गर्ने गिरोह सक्रिय हुँदै गएको छ। अहिले पक्राउ परेका समेत गरेर विगत तीन महिनाको अवधिमा जिल्लाको विभिन्न स्थानबाट नक्कली नोटसहित १० जना पक्राउ परिसकेका छन्। 

यसअघि पक्राउ परेका नौ जनामध्ये छ जना पूर्पक्षका लागि थुनामा छन् भने तीन जना एक/एक लाख रुपियाँ धरौटी बुझाएर रिहा भएका प्रहरी उपरीक्षक सुवेदीले बताउनुभयो। उहाँका अनुसार तीन महिनामा तीन लाख ३६ हजार नक्कली रुपियाँ, २३७ बण्डल नोट आकारको कागज र कागज काट्ने मेसिन बरामद भएको छ।