• १६ चैत २०८०, शुक्रबार

फ्लोरिडाको तटमा विमान दुर्घटना हुँदा चार जनाको मृत्यु

blog

भेनिस (फ्लोरिडा), चैत २४ गते । फ्लोरिडाको तट नजिक एउटा सानो विमान दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । दुई जना महिला र दुई जना पुरुषको शव दुर्घटनास्थलबाट निकालिएको प्रहरीले बताएको छ ।

भेनिस विमानस्थलबाट उडेको केही बेरमा विमान बुधबार राति साढे नौ बजे दुर्घटना भएको जनाउँदै प्रहरीले विमानको भग्नावशेष बिहीबार बिहान पानीमुनि भेटिएको बताएको छ ।

फ्लोरिडाको मत्स्य तथा वन्यजन्तु संरक्षण आयोग, तट रक्षक र सुरक्षाकर्मीको सहायतामा खोजबिन गरिएको थियो । दुर्घटनाग्रस्त विमानमा चार जनामात्र यात्री रहेका पनि प्रहरीको प्रारम्भिक प्रतिवेदनमा जनाइएको छ ।

गत डिसेम्बरमा पनि भेनिसमा सानो विमान दुर्घटना हुँदा तीन जनाको ज्यान गएको थियो । छोटो अवधिमा लगभग एकै स्थानमा एकै प्रकृतिका विमान दुर्घटना हुनुलाई नागरिक उड्डयन विभागका अधिकारीहरूले ती दुर्घटनाका बीच केही सम्बन्ध थियो वा थिएन भन्ने निष्कर्षमा तत्काल पुग्न नसकिने बताएका छन् । दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको छ । रासस/एपी