• ७ वैशाख २०८१, शुक्रबार

विमानस्थल नियमित सञ्चालनका लागि दबाब

blog

विमानस्थल । फाइल तस्बिर

रमेशकुमार वोगटी

मान्म (कालिकोट), चैत २४ गते । निर्माण कार्य थालिएको कालीकोटको सुनथराली विमानस्थलमा ३३ वर्षपछि २०७३ माघ २९ गते पहिलो पटक परीक्षण उडान भएको थियो । तत्कालीन जिल्ला पञ्चायतले २०४२ मा यसको निर्माण गर्ने भनेर बजेट छुट्याए पनि निर्माणकै काम भने प्राधिकरणले जिम्मा लिएपछि सुरु भएको थियो ।

सुनथराली विमानस्थल सञ्चालनका लागि अहिले अन्तिम चरणमा पुगेको छ । आगामी वैशाख १ गते परीक्षण उडान गरेर विमानस्थल सञ्चालनमा ल्याउने तयारी थालिएको छ ।  विमानस्थल नियमित सञ्चालनका लागि नेपाल पत्रकार महासङ्घ कर्णाली प्रदेशले पनि माग गरेको छ । 

विमानस्थलको धावनमार्गमै आयोजना गरिएको साधारण सभामा प्रतिनिधि सभा सदस्य महेन्द्रबहादुर शाही, कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णबहादुर जिसी, कर्णाली प्रदेशका सांसद हिक्मत विष्ट, दुर्गबहादुर रावत नेपाल पत्रकार महासङ्घ केन्द्रीय अध्यक्ष विपुल पोख्रेल, कर्णाली प्रदेशका दश वटै जिल्लाका पत्रकार महासङ्घका अध्यक्षलगायत जिल्लाका ९ वटै स्थानीय तहका प्रमुखहरू र अन्य सरकारी निकायका प्रमुखहरूको सहभागिता रहेको थियो । 

६ सय ४० मिटर लम्बाइ र ६० मिटर चौडाइ रहेको प्रतिनिधिसभा सदस्य एवम् कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सुनथराली विमानस्थलमा नियमित उडानका लागि पहल भइरहेको बताउनुभयो । त्यसैगरी कर्णाली प्रदेशसभा सदस्य हिक्मतबहादुर विष्टले सङ्घीय पर्यटनमन्त्रीसँग वैशाख १ गते परीक्षण उडान गर्ने विषयमा छलफल भएको बत्ताउनुभयो । 

यो विमानस्थल २०४२ देखि निर्माणको योजना अघि बढेको थियो । स्थानीय नागरिकको पहलमा त्यतिबेला तत्कालीन जिल्ला विकास समिति कालीकोटले एक लाख रकम विनियोजन गरेर विमानस्थल निर्माणको काम सुरु गरेको थियो । 

त्यसको ६ वर्षपछि २०४८ मा मात्रै सरकारले सुनथराली विमानस्थललाई आफ्नो योजनामा राखेर बजेट विनियोजन गरेको थियो । अहिले विमानस्थलमा दुवै तर्फबाट जहाज अवतरण गर्न सक्नेगरी निर्माण गरिएको छ ।

सदरमुकाम मान्मदेखि पाँच घण्टा टाढाको दूरीमा रहेको कोटवाडा विमानस्थल सञ्चालनमा आएपछि नागरिकलाई सहज हुनुका साथै जिल्लाको पर्यटकीय क्षेत्रमा विकास आशा गरिएको छ । विमानस्थलमा नियमित उडान भएमा पर्यटकीयस्थलका रूपमा रहेको अछामको रामारोशन, बाजुरा र कालिकोटको सिमानामा रहेको त्रिवेणी पाटन, बडिमालिकाको पर्यटन प्रवर्धनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ  ।