• १३ वैशाख २०८१, बिहिबार

मुगुमा नेत्रज्योति सङ्घको निःशुल्क आँखा शिविर, १५४ जनाले पाए ज्योति

blog

नेपाल नेत्रज्योति संघको आयोजनामा हिमाली जिल्ला मुगुका दुई वटा स्थानिय तहमा निःशुल्क आँखा शिविर ।

काठमाडौं, चैत २४ गते । नेपाल नेत्रज्योति सङ्घको आयोजनामा हिमाली जिल्ला मुगुका दुई वटा स्थानीय तहमा निःशुल्क आँखा शिविर सम्पन्न भएको छ । नेपाल नेत्रज्योति सङ्घ आँखा उपचार केन्द्र मुगुको स्थानीय आयोजना, हिमालय आँखा अस्पताल पोखराको प्राविधिक सहयोग र नेपाल नेत्रज्योति सङ्घ एकीकृत आँखा कान स्वास्थ्य कार्यक्रम कर्णालीको आर्थिक सहयोग र आईकेयर फाउन्डेसनको विशेष सहयोगमा उक्त शिविरहरू आयोजना गरिएको हो ।

उक्त दुईवटा आँखा शिविरमार्फत एक हजार ११८ जना बिरामीहरूको आँखा परीक्षण गरिएको छ भने १५४ जनाको निःशुल्क शल्यक्रिया समेत भएको छ । उक्त शिविरमार्फत हुम्ला जिल्लाका साथै छिमेकी जिल्ला जुम्ला र हुम्लाका नागरिकहरू समेत लाभान्वित भएका छन् ।

चैत्र १५ गतेदेखि १७ गतेसम्म मुगुको छायाँनाथ रारा नगरपालिका गमगढीमा सञ्चालित शिविरमा ६४७ जना बिरामीहरूको निःशुल्क आँखा जाँच गरिएको थियो । उक्त शिविरमा आँखा जाँच गराएका बिरामीहरूमध्येमा मोतीबिन्दु देखिएको ६५ जनाको निःशुल्क शल्यक्रिया समेत गरिएको नेपाल नेत्रज्योति सङ्घका केन्द्रीय उपाध्यक्ष तिलकबहादुर मल्लले बताउनुभयो ।

त्यस्तै, मुगुकै खत्याड गाउँपालिकामा चैत्र २० गतेदेखि २२ गतेसम्म सञ्चालन गरिएको शिविरमा ४७१ जनाको आँखा जाँच गरी मोतीबिन्दु देखिएका ८७ जना बिरामीको निःशुल्क शल्यक्रिया गरिएको थियो भने दुई जनाको माइनर सर्जरी समेत गरिएको थियो ।

दुईवटै शिविरमार्फत ४८४ जना बिरामीहरूलाई निःशुल्क चस्मा समेत वितरण गरिएको मल्लले जानकारी दिए । पहुँच र आर्थिक अभावमा कोही पनि नागरिकहरू दृष्टिविहीन बस्न नपरोस् भन्ने हेतुले सङ्घले दशैभरी निःशुल्क आँखा शिविर सञ्चालन गरिरहेको मल्लले बताउनुभयो ।

नेपाल नेत्रज्योति सङ्घ हिमालय आँखा अस्पताल पोखराका नेत्रअधिकृत गोविन्दनाथ योगीको नेतृत्वमा गएको स्वास्थ्यकर्मीहरूको टोलिले आँखा शिविर सञ्चालन गरेको हो । 

मोतीबिन्दु रोग नेपालमा रहेको दृष्टिविहीनताको सबैभन्दा प्रमुख कारण हो । जुनसुकै उमेरका मानिसमा पनि यो समस्या देखिन सक्छ तर, अधिकांशमा उमेर बढ्दै गएपछि मोतीबिन्दु हुने सम्भावना पनि बढ्दै गएको पाइन्छ ।

मोतीबिन्दु भइसकेपछिको सबैभन्दा प्रभावकारी उपचार शल्यक्रिया नै हो । यो रोग औषधिले ठीक हुँदैन । शल्यक्रिया गर्न नपर्ने अवस्थामा चस्माको प्रयोगबाट पनि धरै हदसम्म सफा हेर्न मद्दत गर्दछ तर पूर्ण सफा हेर्नको लागि शल्यक्रिया नै गर्नु पर्ने हुन्छ । आजभोलि प्रविधिमा आएको विकासले मोतीबिन्दुको शल्यक्रिया गरेको केही घण्टामै बिरामी आफ्नो सामान्य दैनिकीमा फर्कन सक्छन् ।

नेपाल नेत्रज्योति सङ्घद्वारा सञ्चालित विभिन्न अस्पतालहरूले विभिन्न सङ्घ संस्थाहरूसँगको सहकार्यमा देशैभरि वार्षिक हजारौँ निःशुल्क आँखा उपचार तथा शल्यक्रिया शिविर सञ्चालन गर्दै आइरहेका छन् ।

नेपाल नेत्रज्याति सङ्घले हाल देशभरमा २७ वटा आँखा अस्पताल तथा १५० भन्दा बढी आँखा उपचार केन्द्र सञ्चालन गरिरहेको छ । सङ्घले देशभरका आँखा अस्पताल, आँखा उपचारका केन्द्र र विभिन्न आँखा शिविरहरू मार्फत हरेक जिल्लाका नागरिकहरूलाई आँखा उपचार सेवा प्रवाह गर्दै आइरहेको छ ।