• ७ वैशाख २०८१, शुक्रबार

‘सुदूर विस्मृतिका बिम्बहरु’ सार्वजनिक

blog

‘सुदूर विस्मृतिका बिम्बहरु’ सार्वजनिक गरिँदै ।

गोरखापत्र समाचारदाता

काठमाडौं, चैत २३ गते । नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति बैरागी काइँलाले लेखक टंक वनेमको छैटौँ कृति ‘सुदूर विस्मृतिका बिम्बहरु’ सार्वजनिक गर्नुभएको छ । नेपाली वाङ्मय परिषद्ले राजधानीमा बिहीबार आयोजना गरेकाे कार्यक्रममा बरिष्ठ साहित्यकार काइँलाले संस्मरणात्मक कृति भएपनि इतिहासका दस्तावेजका रुपमा कतिपय घटना सङ्कलित भएको बताउनुभयो । 

पूर्व कुलपति काइँलाले भन्नुभयो, “वनेमका विगतका कृति पनि निकै गहकिला थिए । यस पुस्तक मेरा लागि पनि कतिपय सन्दर्भमा स्रोत कृतिको रुपमा पाएँ ।” उहाँले ब्रिटिस सेनाको जागिरेका रुपमा रहेर पनि वनेमले जाति, भाषा, संस्कृति, इतिहासमा गहिरो रुचीसाथ अध्ययन र लेखन कार्यलाई जारी राखेको बताउनुभयो । 

परिषद्का अध्यक्ष शशि लुमुम्बूको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेपाल प्रज्ञाप्रतिष्ठानका पूर्व सदस्यसचिव प्रा.डा. जगत उपाध्याय प्रेक्षितले लेखकले प्रस्तुतिमा चित्रात्मकता, कथात्मकता दिएको बताउनुभयो । उहाँले अनुसन्धानमूलक निवन्ध, संस्मरण, सम्झनासँग स्रस्टाको अन्तरङ्ग सम्बन्ध रहेको तर घटना प्रस्तुतिमा लेखकको कुनै आग्रह, पूर्वाग्रह नरहेको बताउनुभयो ।

कार्यक्रममा हरिप्रसाद सिलवाल, लेखक टंक वनेम, डा‍. भक्त राईलगायतले पुस्तकका बारेमा चर्चा गर्नुभएको थियो ।