• १५ चैत २०८०, बिहिबार

क्रिकेटर अर्जुन सम्मानित

blog

क्रिकेटर अर्जुन कुमाललाई सम्मान गरिँदै । तस्बिर : गोरखापत्र

रमेश विश्वकर्मा 

गुल्मी, चैत २३ गते । गुल्मीको रेसुङ्गा नगरपालिकाले क्रिकेटर अर्जुन कुमाललाई सम्मान गरेको छ । बिहीबार नगरपालिकाको कार्यालयमा नगरप्रमुख खिलध्वज पन्थीले क्रिकेटर अर्जुनलाई ३० हजार रुपियाँसहित सम्मान गरेको छ ।

छत्रकोट गाउँपालिका वडा नम्बर–५, मानकोटमा जन्मिनुभएका उहाँलाई केही दिन पहिले उहाँको गृह पालिका गुल्मी उद्योग वाणिज्य सङ्घ, जिल्ला खेलकुद विकास समिति लगायतका विभिन्न संस्थाले पनि सम्मान गरेको थियो । क्रिकेटर अर्जुनले कुवेतविरुद्ध शतक रन बनाउनुभएको थियो । 

सम्मान गर्नुहुँदै नगरप्रमुख पन्थीले गुल्मीमा जन्मेर खेल क्षेत्रबाट जिल्लाको शिर उच्च बनाउन सफल भएकोमा अर्जुनलाई बधाई दिनुभयो । उहाँले खेल र खेलाडीलाई सम्मान गर्न नगरपालिका सधैँ प्रतिबद्ध रहेको पनि बताउनुभयो । खेल क्षेत्रमा आगामी दिनमा थप हौसला बढोस् भनेर सम्मान गरिएको बताउनुभयो । 

केही दिन अघि कार्यपालिकाको बैठकले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी सोमपाल कामी र अर्जुन कुमाललाई सम्मान गर्ने निर्णय गरेको थियो । सोही निर्णय अनुसार अर्जुनलाई सम्मान गरिएको हो ।