• १६ चैत २०८०, शुक्रबार

ह्रासोन्मुख अध्ययन संस्कृति

blog

कुनै पनि मुलुकमा अध्ययन संस्कृतिले जाग्रत चेत भएको जनशक्ति निर्माणका निम्ति उल्लेख्य योगदान दिन्छ । निरन्तरको अध्ययन र पठन प्रवृत्ति प्रत्येक मानिसका निम्ति आफैँमा बौद्धिक खुराक हो । दुर्भाग्य नै भन्नुपर्छ यता आएर भने खासगरी नेपाली युवामा अध्ययन संस्कृतिमा निरन्तर ह्रास आएको स्पष्ट महसुुस गर्न सकिन्छ । 

अध्ययन संस्कृतिलाई सूचना प्रविधिका फरकफरक माध्यमले विस्तारै विस्थापित गर्दै लगिरहेका छन् । यस आलोकमा आजका युवाका हातहातमा ज्ञानवद्र्धक पुस्तकको सट्टा मोबाइल, ल्यापटप र आइप्याडजस्ता आधुनिक स्मार्ट डिजिटल प्रविधिका साधनहरू देखिन्छन् । यो आफैँमा खराब होइन तर यी माध्यमले उपलब्ध गराउने सङ्क्षिप्त जानकारी मात्रै बौद्धिक खुराक हुन सक्दैनन् । सूचना प्रविधिका यस्ता साधनको उपयोगका साथसाथै विषयवस्तुुु सम्बद्ध पुस्तकको गहन अध्ययनबाट नै प्रत्येक व्यक्तिको सोचाइ र दृष्टिकोण फराकिलो र सिर्जनात्मक बन्ने कुरामा दुईमत हुन सक्दैन । 

पुस्तक अध्ययनमा भन्दा सूचना प्रविधिका साधनमा रमाउने प्रवृत्तिका कारण नेपाली युवाको रचनात्मक र सिर्जनात्मक क्षमता समेत कमजोर हुँदै गएको छ ।

हाम्रो समाजमा देखिएको अध्ययन संस्कृतिको खस्कँदो अवस्थालाई पुस्तकालयको उपलब्धतामा आएको ह्राससँग पनि जोडेर हेर्न सकिन्छ । 

पठन संस्कृतिका निम्ति अनुकूल वातावरण निर्माण गर्न महत्वपूर्ण मानिने पुस्तकालयहरूको अस्तित्व हराउँदै जानु र भएका पुस्तकालयसमेत संरक्षणहीन अवस्थामा रहनु थप चिन्ताको विषय हो ।

वस्तुतः पुस्तक अध्ययन फगत बौधिक विलासिता मात्र होइन । यस अर्थमा डाक्टर, इन्जिनियर वा पेसागत विज्ञ विशेषले मात्र पुस्तक अध्ययन गर्नुपर्छ भन्ने पनि होइन । समाजका प्रत्येक तह, तप्का, वर्ग र वयका मानिसले पुस्तक अध्ययनलाई जीवन पद्धतिका रुपमा आत्मसात् गर्नु आवश्यक छ ।

युवा–समाज रुपान्तरणका वाहक हुन् । अझ अध्ययनप्रेमी युवा समूह, मुलुक र समाज रुपान्तरणका लागि थप सशक्त साधक बन्न सक्छन् । यो सत्यापित तथ्यलाई मनन गर्दै मुलुकमा अध्ययनशील, सचेत, जागरुक र दक्ष युवा जनशक्ति उत्पादन र निर्माण गर्ने दायित्व राज्यको पनि हो । यताका दिनमा ह्रासोन्मुख अध्ययन संस्कृतिको विकास र उत्थानका निम्ति सरकारले शिक्षा क्षेत्रमा पर्याप्त बजेट विनियोजन गर्ने र युवा विद्यार्थीलाई अध्ययन प्रेरणाका निम्ति अनुकूल वातावरण निर्माण गर्ने दायित्व निर्वाह गर्नु वाञ्छनीय हुनेछ ।