• १५ चैत २०८०, बिहिबार

अन्तरिक्षमा अलपत्र

blog

सन् १९९१ मा सर्गेई क्रिकलेभ अन्तरिक्ष यात्रामा निस्किएका थिए तर उनी अन्तरिक्षमा धेरै लामो समय अड्किए । सोभियत सङ्घ विघटन भएपछि मात्र उनी तीन सय दिन अन्तरिक्षमा बिताएर पृथ्वीमा फर्किए । के भएको थियो ती अन्तरिक्षयात्री क्रिकलेभलाई ?

कल्पना गरौँ सानो बच्चालाई उनको आमाले एकछिन बजारमा एक्लै छाड्दा ती बच्चालाई कस्तो महसुस हुन्छ होला, जब कुनै देशले आफ्नो नागरिकलाई अन्तरिक्षमै एक वर्ष अलपत्र पारिदिँदा कस्तो होला ! अन्तरिक्षमा अलपत्र पर्ने घटना भयो क्रिकलेभसँग । एक अन्तरिक्ष अभियानका लागि उनलाई पठाइएको थियो तर उनी तीन सय ११ दिन त्यहीँ अड्किए । उनी के कारण अन्तरिक्षमा अलपत्र परे ?, उनको कसरी उद्धार भयो ? र पृथ्वीसम्म कसरी उनलाई ल्याइयो ?

सन् १९९१ को वसन्तमा पाँच महिने अभियानका लागि क्रिकलेभले अन्तरिक्षमा जान सबै तयारी गरेका थिए । उनलाई तालिम नै त्यही समय सीमाका लागि दिइएको थियो र त्यसैअनुसार अभियान पनि अगाडि बढाइयो तर सोचेको र योजनाअनुसार केही भएन । सन् १९९२ जनवरीसम्म क्रिकलेभ अन्तरिक्षमा बसेको आठ महिना भइसकेको थियो र पृथ्वीमा फिर्ता कहिले हुने हो कुनै सङ्केत उनले पाएका थिएनन् ।

क्रिकलेभ निर्धारित समयसीमा भित्र पृथ्वीमा फिर्ता हुन नसक्नुको मुख्य कारण थियो सोभियत सङ्घ अस्तित्वमा नरहनु । किनभने सोभियत सङ्घले उनलाई त्यहाँ पठाएको थियो र फिर्ता ल्याउने जिम्मेवारी पनि सोभियत सङ्घकै थियो ।

जब अन्तरिक्ष अभियान सम्पन्न भएको थियो त्यतिबेला क्रिकलेभ अन्तिम सोभियत नागरिक थिए । उनलाई उपनाम ‘सोभियत सङ्घको अन्तिम नागरिक’ पनि दिइयो । सन् १९९१ मा सोभियत सङ्घ विघटन हुँदा क्रिकलेभले यो उपनाम पाएका थिए । उनको निर्धारित पाँचमहिने अन्तरिक्ष बसाइँ अवधिमै सोभियत सङ्घ विघटन भइसकेको थियो र उनी सोभियत नागरिकका रूपमा अन्तरिक्षमै थिए ।

यस कारण क्रिकलेभलाई अन्तरिक्षबाट पृथ्वीमा फिर्ता ल्याउन सरकारी रकम नै भएन । क्रिकलेभलाई फिर्ता ल्याउने अभियान कुनै सरकारको प्राथमिकतामा परेन । क्रिकलेभको परिवार र साथीभाइले उनको स्वास्थ्य अवस्थाप्रति बढी चासो राख्न थालेपछि उनको घर फिर्तीको प्रश्न राजनीतिक मुद्दा बन्ने अवस्था समेत आयो ।

क्रिकलेभ अन्तरिक्षमा बसेको समय तोकिएको समयावधि भन्दा दोब्बर अर्थात् तीन सय ११ दिन भइसकेको थियो । अन्ततः सन् १९९२ मार्च २५ मा उनीले पृथ्वीमा फर्किने अवसर पाए । पृथ्वीमा फर्केपछि उनले सोभियत सङ्घको नागरिकता त्याग गरी रुसको नागरिकता लिए ।

जब सन् १९९२ मार्च २५ मा क्रिकलेभले पुनः पृथ्वीमा पाइला टेके उनको शारीरिक अवस्था निकै कमजोर थियो । उनी हिँड्न पनि सक्दैनथे, सहयोगीहरूको सहारमा उनी अन्तरिक्षयानबाट बाहिर निस्किएका थिए ।

तर असामान्य परिस्थिति सिर्जना भई अन्तरिक्षमा लामो समय अलपत्र परे पनि क्रिकलेभमा अन्तरिक्ष यात्राप्रति मोह भङ्ग भएन । सन् १९९० को दशकमा उनले कैयौँ पटक अन्तरिक्षको थप यात्रा गरे । सन् २००५ मा उनलाई कमान्डर बनाइयो र त्यसको दुई वर्षपछि रोसकसमसमा ह्युम्यान स्पेसफ्लाइटको निर्देशक भए । 

–युवमाञ्च