• १३ वैशाख २०८१, बिहिबार

द्रुत गतिमा विकास अघि बढाउन प्रदेश सदस्यको माग

blog

मुना हमाल

सुर्खेत, चैत २३ गते । प्रदेश सभा बैठकको विशेष समयमा प्रदेश सभा सदस्यले विकास निर्माणका काम द्रुत गतिमा अघि बढाउन सरकारको ध्यानाकर्षण गराएका छन् । 

प्रदेश सभा सदस्यले मन्त्रीले आफ्नो ठाउँमा मात्रै योजना पठाउने गरेको, जथाभाबी रकमान्तर गरेको भन्दै सरकारको आलोचना गरेका थिए । प्रदेश सभा सदस्य सुरेश अधिकारीले आफूखुसी काम नगर्न मन्त्रीको ध्यानाकर्षण गराउनुभयो । उहाँले जथाभाबी बजेट रकमान्तर नगर्न र समान रूपमा योजना तथा बजेट विनियोजन गर्न आग्रह गर्नुभयो ।

प्रदेश सभा सदस्य कलबहादुर हमालले बजेटको सही सदुपयोग गरेर विकास निर्माणका काम अघि बढाउनुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, “विकास बजेट खर्च भएको छैन । विकासका काम बाँकी नै छन् । बजेट सदुपयोग गरेर सही ठाउँमा लगानी गरी नियमन र अनुगमन बलियो बनाउन आवश्यक छ ।”

प्रदेश सभा सदस्य शेरबहादुर बुढाले विकास निर्माणका काम अलपत्र परेको भन्दै सरकारले त्यस्ता योजना अघि बढाउनुपर्ने बताउनुभयो । उहाँले सडक, विद्युत्लगायत योजना निर्माण व्यवसायीले अलपत्र पारेकोमा सरकारको ध्यानाकर्षण गराउनुभयो । उहाँले आर्थिक वर्षको अन्तिममा बजेट खर्च गर्ने प्रवृत्ति अन्त्य गर्न आग्रह गर्दै आगामी आर्थिक वर्षमा जनताप्रति वफादार भएर नीति तथा कार्यक्रम र बजेट ल्याउनुपर्नेमा जोड दिनुभयो । 

प्रदेश सभा सदस्य दक्षिणा शाहीले देशमा तीन तहका सरकार हुँदा पनि कर्णालीका जनताको दुःख, पीडा उस्तै रहेको चर्चा गर्नुभयो । उहाँले गाउँका सडक राम्रा नहुँदा जनताले सास्ती भोग्न बाध्य भएको बताउनुभयो । 

प्रदेश सभा सदस्य इन्दाकुमारी शाहीले कर्णालीका गरिब जनताले महसुस गर्ने गरी सम्मानजनक रूपमा विकास गर्न सरकारलाई आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, “विकास नभएको होइन, भएको छ । तर गरिब जनताका लागि भन्दा पनि सरकारका आफ्नै आसेपासेलाई भएको छ । मन्त्रीहरूले आफ्नो ठाउँमा मात्र बजेट हालेका छन् । यसतर्फ सरकारको ध्यानाकर्षण गराउँछु ।”

कांग्रेस प्रतिपक्षमा

कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्मालाई विश्वासको मत दिएको नेपाली कांग्रेस बुधबारको प्रदेश सभामा विपक्षी दलकै हैसियतले उपस्थिति जनाएको छ । यद्यपि विश्वासको मत नदिएको राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रतिपक्षको हैसियत माग गरेको छ । मुख्यमन्त्री शर्माले चैत १७ गते विश्वासको मत लिनुभएको थियो । मुख्यमन्त्री शर्मालाई राप्रपाबाहेक सबै दल तथा प्रदेश सभाका स्वतन्त्र सदस्यले समेत विश्वासको मत दिएका थिए । 

प्रदेश सभा बैठकमा राप्रपाबाट निर्वाचित प्रदेश सभा सदस्य सन्तोषी शाहीले मुख्यमन्त्री शर्मालाई सबै दलले विश्वासको मत दिएकाले राप्रपा अब प्रतिपक्ष दल भएको र त्यसका लागि प्रतिपक्षको सिट व्यवस्थापन गर्न अनुरोध गर्नुभयो । पुस २७ गते कर्णाली प्रदेश सरकार गठन हुँदा राप्रपाले समर्थन गरेको थियो । केन्द्रको सत्ता समीकरण फेरबदल भएसँगै राप्रपाले सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो । दोस्रो पटक मुख्यमन्त्री शर्माले प्रदेश सभामा विश्वासको मत लिँदा राप्रपाले विपक्षमा मतदान गरेको थियो । कर्णाली प्रदेश सभामा राप्रपाका एक जना मात्रै प्रदेश सभा सदस्य हुनुहुन्छ ।

नेपाली कांग्रेसबाट निर्वाचित प्रदेश सभा सदस्य घनश्याम भण्डारीले मुख्यमन्त्री शर्मालाई विश्वासको मत दिए पनि सरकारमा सहभागी नभएकाले कांग्रेस प्रतिपक्षमै बसेको बताउनुभयो । प्रदेश सभाका सचिव जीवराज बुढाथोकीले सरकारमा सहभागी नभएकाले नेपाली कांग्रेस विपक्षी दलको सिटमा बसेको जानकारी दिनुभयो ।