• ७ वैशाख २०८१, शुक्रबार

माहुरीपालक अगुवा कृषकलाई तालिम

blog

तालिममा सहभागी प्रशिक्षार्थीहरु । तस्बिर : अमृतप्रसाद पौडेल

अमृतप्रसाद पौडेल

म्याग्दी, चैत २२ गते । हिमाली जिल्ला म्याग्दीको सदरमुकाम समेत रहेको बेनी नगरपालिकाले आफ्नो क्षेत्रका ३० जना अगुवा कृषकलाई माहुरीपालनसम्बन्धी तालिम प्रदान गरेको छ ।

बेनी नगरपालिका –४ सिंगामा रहेको हरियाली ग्रुप प्रालिको तालिम हलमा तीन दिनसम्म सञ्चालन भएको तालिममा नगरपालिकाका १० वटै वडाबाट तीन–तीन जनाका दरले माहुरीपालक कृषकहरुको सहभागिता रहेको थियो । कृषि ज्ञान केन्द्र म्याग्दीका बाली संरक्षण अधिकृत सन्दिप बास्तोलाले सहजीकरण गर्नुभएको तालिममा बेनी नगरपालिका –४ सुर्केमेलाका व्यावसायिक माहुरीपालक कृषक दिलबहादुर खत्रीले पनि साथ दिनुभएको थियो ।

तालिममा नेपालमा पाइने माहुरीका जातहरु, माहुरीको जीवनचक्र, वर्ग विभाजन, माहुरीको सारीरिक बनावट र कार्यविभाजन तथा माहुरीको गोलामा हुने वार्षिक जीवनचर्या समसामयीक गोला व्यवस्थापनका बारेमा प्रशिक्षण दिइएको थियो । माहुरीको गोला विभाजन, संयोजन, सैद्धान्तिक र प्रयोगात्मक अभ्यासहरु बारेमा पनि जानकारी गराइएको थियो । 

माहुरीपालक कृषकलाई माहुरीका रोगहरु, कुपोषण, परजीविको व्यवस्थापन गर्ने विधिका बारेमा पनि जानकारी गराइएको बेनी नगरपालिका –५ चिप्लेटीका कृषक लक्ष्मण केसीले बताउनुभयो । मह उत्पादन, प्रशोधन, भण्डारण र प्रयोगसम्बन्धी जानकारी पनि तालिममा गराइएको उहाँले बताउनुभयो ।

समापन कार्यक्रममा बेनी नगरपालिका –४ का वडा अध्यक्ष अणबहादुर खड्का, कृषि शाखाकी अधिकृत आकृति ढुङ्गानाले बोल्नु भएको थियो । तालिममा सहभागी कृषकलाई ५० प्रतिशत अनुदानमा नगरपालिकाले माहुरीसहितको घार उपलब्ध गराउने जनाएको छ ।