सम्बन्धविच्छेदको कानुनी प्रावधान

kalpana nepalकल्पना नेपाल आचार्य

 

विवाहलाई सामाजको एक पवित्र सम्बन्धको रूपमा लिइन्छ । सरल भाषामा लोग्ने र स्वास्नीबीचको सम्बन्ध तोड्नुलाई सम्बन्धविच्छेद भनिन्छ । यद्यपि, सम्बन्धविच्छेद हुनुअघि विवाहले सामाजिक स्वीकृति र वैधानिकता पाएको हुनुपर्छ । वैवाहिक सम्बन्ध प्रत्येक समाजको आ–आफ्नै सामजिक मूल्य मान्यता, प्रचलन र संस्कारअनुसार स्थापित हुन्छ । यौन सम्बन्ध राख्ने, सन्तान उत्पादन गर्न पाउने र ती सन्तानको रेखदेख, पालनपोषण, शिक्षा दीक्षा दिलाउने जिम्मेवारी हुन्छ । यही सम्बन्धमा कुनै आँच या बेमेल, पारस्परिक विश्वासको कमी र असमझदारीको स्थिति आई एकले अर्कोलाई छोड्ने या वैवाहिक सम्बन्ध तोड्ने कार्य नै सम्बन्धविच्छेद हो ।
आज समाजमा उदारीकरण, विश्वव्यापीकरण, निजीकरणले ल्याएको सामाजिक परिवर्तनसँगै स्वतन्त्रता र अधिकारको खोजीमा समाजमा सम्बन्धविच्छेदको क्रम पनि बढेको छ । तुलनात्मक रूपमा पूर्वीय देशहरूमा पश्चिमा देशहरूको तुलनामा सम्बन्धविच्छेदको दर कम देखिन्छ । पश्चिमा देशमा सम्बन्धलाई निकै हल्का रूपमा लिने र सानो मनमुटावको परिमाण पनि सम्बन्धविच्छेद हुने गरेको छ । हिन्दु धर्मअनुसार नेपाली समाजमा महिलालाई देवीको रूपमा पूजन गर्ने परम्पपरागत मान्यता एवं व्यावहारिक रूपमा महिलालाई घरभित्र नै राख्ने प्रचलन थियो । हिन्दु धर्मशास्त्रमा स्त्री विनाको पुरुषलाई पूर्ण मानिएको छैन । स्त्री, स्वदेह तथा सन्तान– यी तीन मिलेर मात्र एउटा हिन्दू पुरुषले पूर्णत्व प्राप्त गर्छ । मृत्युपर्यन्त स्त्री पुरुष एकै सूत्रमा बाँधिएको हुन्छ । निजहरू कहिल्यै छुट्टिनु हुँदैन । पति पत्नी जातिच्युत भए पनि, पत्नी पतिको नियन्त्रण बाहिर रहे पनि एक अर्का प्रायश्चितपछि पूर्ववत सम्बन्ध कायम रहन्छ भन्ने मान्यता हिन्दू धर्मशास्त्रमा रहेकोले सामान्यतया सम्बन्धविच्छेदलाई छुट दिइएको थिएन । कौटिल्यले भने भोगको इच्छा नगर्ने पतिलाई नसहने पत्नी वा भोगको इच्छा गर्ने पत्नीलाई नसहने पति दुवैले छाड्न पाउँदैनन् तर पति पत्नी दुवैले दुवैलाई परस्पर नसहने भएमा दुवैले छाड्न हुन्छ भनेका छन् ।
नेपालमा वि.सं. १९१० को मुलुकी ऐन निर्माण भएपछि सम्बन्धविच्छेदको व्यवस्था कानुनी रूपमा शुरु भएको देखिन्छ । मुलुकी ऐन २०२० को एघारौँ संशोधन महल १२ अनुसार सम्बन्धविच्छेद हुन सक्ने व्यवस्था भयो ।
मुलुकी देवानी (संहिता) ऐन, २०७४ र मुलुकी देवानी कार्यविधि संहिता) ऐन,२०७४ अनुसार पति पत्नी दुवैले चाहेमा जहिलेसुकै पनि सम्बन्धविच्छेद गर्न सक्नेछन् । पारिवारिक कानुनको परिच्छेद १ मा सम्बन्धविच्छेद सम्बन्धी व्यवस्थामा दुवैको मञ्जुरीले सम्बन्धविच्छेद गर्न सक्ने उल्लेख छ ।
सम्बन्धविच्छेद सम्बन्धमा मानव अधिकारको विश्वव्यापी घोषणाको धारा १९ (नागरिक तथा राजनीतिक अधिकार) अनुसार उमेर पुगेका पुरुष तथा महिलालाई जाति, राष्ट्रियता वा धर्मको कारणले लगाइने कुनै पनि सीमा विना विवाह गरी परिवार बसाउने अधिकार रहनेछ । उनीहरूलाई विवाह गर्दाका बखत, वैवाहिक सम्बन्ध रहँदाका बखत र विवाह विच्छेदका बखत समान अधिकार हुनेछ भन्ने उल्लेख छ । त्यस्तै महिला विरुद्ध हुने सबै किसिमका भेदभाव उन्मुलन गर्ने महासन्धिको १९८९ ले महिलालाई विवाह गर्ने अधिकार स्वतन्त्र रूपमा आफ्नो जीवनसाथी छान्न पाउने अधिकार, सम्बन्धविच्छेदको अधिकार, सम्पत्तिमा पति पत्नी दुवैको समान अधिकार, सन्तान कति जन्माउने, कहिले जन्माउने भन्ने कुरा निर्धारण गर्न पाउने, सन्तानको संरक्षकत्व ग्रहण गर्न पाउने अधिकार सुनिश्चित गरेको छ ।
आर्थिक सामाजिक तथा सांस्कृतिक अधिकारको अन्तर्राष्ट्रिय प्रतिज्ञा पत्रमा पनि महिलाको अधिकारलाई सुनिश्चित गरिएको पाइन्छ ।
नेपाल बहुजाति, बहुभाषिक र बहुधार्मिक देश हो । अहिले नेपालमा १२५ जात जाति रहेको बताइएको छ । सम्बन्धविच्छेदको जातजातिगत तथ्याङ्कको स्थिति हेर्दा १५ प्रतिशत ब्राह्मण क्षेत्री, ६० प्रतिशत आदिवासी जनजाति, २५ प्रतिशत दलित र धार्मिक अल्पसङ्ख्यक मुस्लिम रहेका छन् ।
परम्परागत रूपमा हिन्दू धर्ममा मागी तथा सजातीय विवाह अत्यधिक प्रचलनमा थियो भने हाल आएर सामाजिक विकासको क्रमसँग प्रेम विवाह पनि हुने गरेको छ । सम्बन्धविच्छेद कुन विवाहको बढी भएको छ भनी अध्ययन गर्दा लिएको नमुना सर्वेक्षणमा सबैभन्दा बढी (९० प्रतिशत) प्रेम विवाह भएकाहरूको र १० प्रतिशत मात्र मागी विवाह भएकाको सम्बन्धविच्छेद भएको देखिन्छ । परिवर्तित समयलाई मध्यनजर राख्दा विवाहमा उमेरले महìवपूर्ण भूमिका निर्वाह गर्छ । कम उमेरमा विवाहित हुने व्यक्तिलाई वास्तवमा विवाह के हो भन्ने बारेमा अवगत नै हँुदैन । जब व्यक्ति वैवाहिक सूत्रमा बाँधिन्छ तब उसले वास्तविक जीवनबारे बुझ्नुका साथै सङ्घर्ष र सम्झौता गर्दै अगाडि बढ्नुपर्ने हुन्छ । यस्तो समय र परिस्थितिमा सङ्घर्ष र सम्झौता विना व्यक्ति अगाडि बढ्न खोजेमा परिवारमा बेमेल भई पारिवारिक कलह र झगडा उत्पन्न हुन्छ । अन्ततः सम्बन्धविच्छेदको स्थिति आएको देखिन्छ ।
वैवाहिक जीवनमा उमेरको फरकले हरेक कुरालाई सोच्ने, विश्लेषण गर्ने, खाने, घुम्ने, अरूहरूप्रति व्यवहार दर्शाउने लगायतका मनोवैज्ञानिक प्रभाव समेत व्यक्तिमा परेको हुन्छ । परिमाणस्वरूप उल्लेखित विविधताले दाम्पत्य जीवनमा हुरी चल्छ र सम्बन्धविच्छेदको स्थिति आइपर्छ । उमेरको कारण हुने सम्बन्धविच्छेदको अवस्था हेर्दा १८ देखि ३५ वर्षका उमेर समूहको ७० प्रतिशत सम्बन्धविच्छेद भएको पाइन्छ भने त्यसपछि ३५ देखि ४० वर्षको उमेर समूहको २० प्रतिशत र ४० वर्षभन्दा माथि समूहको १० प्रतिशत रहेको पाइन्छ ।
सम्बन्धविच्छेदको अवस्थालाई हेर्दा कम उमेरमा प्रेम विवाह गरेका समूह पर्छन् भने उमेर पुगेर विवाह गरेका उमेर समूहका बीचमा सम्बन्धविच्छेद कम भएको पाइन्छ । हाल सम्बन्धविच्छेदको मुद्दाहरू न्यायिक निकायमा अरू मुद्दाभन्दा पनि बढिरहेको पाइन्छ । ग्रामीण क्षेत्रमा भन्दा शहरी क्षेत्रमा सम्बन्धविच्छेदको दर दिनानुदिन बढ्दो छ ।
सम्बन्धविच्छेद व्यक्तिको रुचि र महìवाकांक्षाको विषय होइन, यो त समाज वा घर परिवारले सिर्जना गरेको विषय हो । सम्बन्धविच्छेद गर्दा हाल आएर कानुनी रूपमा सहज भए पनि जुन महिलाहरूले अंश स्वरूप सम्बन्धविच्छेद गर्छन् उनीहरुका लागि निकै कठिनाइ भोग्नु परेको पाइन्छ । सम्बन्धविच्छेद गर्ने महिलाको बालबालिकामा पनि निकै मानसिक असरहरू पर्न गएको छ । अपरिपक्व वा सानै उमेरमा विवाह गर्दा केटा केटीहरूको शिक्षामा प्रभाव पर्ने देखिन्छ । शिक्षा नभएमा जीवन यापनका लागि निकै कठिनाइ भोग्नुपर्ने हुन्छ । सानो उमेरमा माया प्रेम गरी पश्चिमा मुलुकको नक्कल गरी विवाह गर्ने प्रचलनले सम्बन्धविच्छेदलाई बढाएको छ । शिक्षाको स्तरमा कमी हुनु, महिला पुरुषबीच तालमेल नमिल्नु, एकले अर्कोलाई हेर्ने दृष्टिकोणमा फरक भई आ–आफ्नै किसिमको स्तर मिल्ने साथी खोज्न तत्पर हुनु, जा“ड रक्सी, जुवातास, झगडा, कुटपिट, परपुरुषगमन, परस्त्रीगमन, बहुविवाहजस्ता एक अर्कालाई मन नपर्ने बानीबाट सिर्जित अवस्थाबाट हैरान या सहनै नसक्ने स्थितिबाट मुक्ति पाउनका लागि सम्बन्धविच्छेद भएको देखिन्छ ।
महिलाले सम्बन्धविच्छेद गर्दा कानुनी प्रक्रियाअनुसार लोग्नेको चल तथा अचल सम्पत्ति अंश स्वरूप लिँदा मुद्दाको फैसला लामो समय हुने र अचल सम्पत्ति लिएर त्यो उपयोग नहुने हुँदा कानुनी रूपमा पनि परिमार्जन गर्नुपर्छ भन्ने देखिन्छ, जसले गर्दा सम्बन्धविच्छेद गर्नेका लागि अंश लिन सहज हुन्छ तर सम्बन्धविच्छेदको वार्षिक वृद्धिदर निकै बढिरहेको हुनाले यसलाई कसरी कम गर्न सकिन्छ भन्ने सामाजिक अध्ययन तथा योजना बनाउनु जरुरी छ ।

 

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना