• १५ चैत २०८०, बिहिबार

राष्ट्रपति पौडेललाई निवासमै आराम गर्न चिकित्सकको सुझाव

blog

राष्ट्रपति रामचन्द्र पौडेल । फाइल तस्बिर

काठमाडौं, चैत २२ गते। राष्ट्रपति रामचन्द्र पौडेललाई चिकित्सकले केही समय पूर्ण रुपमा निवासमै आराम गर्न सुझाव दिएका छन्। पेटमा समस्या भएर शनिबार त्रिवि शिक्षण अस्पताल भर्ना भएर उपचारपछि बुधबार डिस्चार्ज हुनुभएपछि चिकित्सकले यस्तो सुझाव दिएको राष्ट्रपतिका स्वीकीय सचिव चिरञ्जीवी अधिकारीले जानकारी दिनुभयो। राष्ट्रपति पौडेल डिस्चार्ज हुनुभएपछि विज्ञप्ति सार्वजनिक गर्दै अधिकारीले यो जानकारी दिनुभएको हो। 

‘‘राष्ट्रपति पौडेलज्यू पेटमा समस्या आएपछि शनिबार त्रिवि शिक्षण अस्पताल भर्ना हुनुभएकोमा आज स्वास्थ्य लाम गरेर शितल निवास फर्कनुभएको छ’’, स्वकीय सचिवालयले सार्वजनिक गरेको विज्ञप्तिमा भनिएको छ, ‘‘राष्ट्रपतिज्यूलाई केही समय पूर्णरुपमा निवासमा आराम गर्नका लागि चिकित्सकले सुझाव दिनुभएको छ।’’

राष्ट्रपतिको स्वकीय सचिवालयले उपचारमा संलग्न चिकित्सक, नर्स तथा त्रिवि शिक्षण अस्पतालप्रति आभार व्यक्त गरेको छ।  राष्ट्रपति पौडेल अस्पताल भर्ना हुनुभएपछि उहाँको शीघ्र स्वास्थ्य लाभको कामना गर्ने उपराष्ट्रपति, प्रधानमन्त्री, मन्त्री, पूर्व प्रधानमन्त्री, जनप्रतिनिधि, संवैधानिक अंगका प्रमुख, कर्मचारी र सुरक्षाकर्मीप्रति कृतज्ञता व्यक्त गरिएको छ। 
विज्ञप्तिमा राष्ट्रपतिको स्वास्थ्य अवस्थाबारे चासो र शुभेच्छा राख्ने दाजुभाइ तथा दिदीबहिनीप्रति राष्ट्रपतिले कृतज्ञता व्यक्त गर्नुभएको छ। 

  

यो पनि पढ्नुहोस

राष्ट्रपतिको स्वास्थ्य अवस्था सुधारोन्मुख

स्वास्थ्य लाभ गरेर राष्ट्रपति पौडेल डिस्चार्ज