• १६ चैत २०८०, शुक्रबार

एकदिवसीय वरीयतामा नेपालको एक स्थान सुधार

blog

फाइल तस्बिर ।

काठमाडौं, चैत २२ गते । आइसीसी एकदिवसीय क्रिकेट वरीयतामा नेपालले एक स्थान सुधार गरेको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी) ले बुधबार सार्वजनिक गरेको नयाँ वरीयतामा नेपाल एक स्थान सुधार गर्दै १५औं स्थानबाट १४औं स्थानमा उक्लिएको हो ।

नेपालले वरीयतामा यसपटक ओमान र नेदरल्यान्ड्सलाई पछि पारेको छ । नेपालले स्थान सुधार गर्दा नेदरल्यान्ड्स दुई स्थान तल १६औं स्थानमा झरेको हो । ओमान १५औं स्थानमा छ । यस्तै अमेरिका १७औं र नामिबिया १८औं स्थानमा छ ।

नेपाल भन्दा पछि रहनेमा संयुक्त अरब इमिरेट्स (युएई) १९औं र पपुवा न्युगिनी (पीएनजी) २०औं स्थानमा छ । नेपाल भन्दा अगाडि रहनेमा जिम्बावे १३औं र स्कटल्यान्ड १२औं र आयरल्यान्ड ११औं स्थानमा छ । 

यसैगरी अष्ट्रेलिया शीर्षस्थानमा उक्लिएको छ । न्युजिल्यान्ड दोस्रो र भारत तेस्रो स्थानमा छ । इङ्ल्यान्ड चौथो, पाकिस्तान पाँचौं, दक्षिण अफ्रिका छैटौं, बंगलादेश सातौं, श्रीलंका आठौं, वेस्टइन्डिज नवौं र अफगानिस्तान दशौं स्थानमा रहेको छ । टी-२० वरीयतामा भने नेपाल १६औं स्थानमा यथावत छ । एजेन्सी