धुलिखेल–नागढुङ्गा मेट्रोरेल: सम्भाव्यता अध्ययनका लागि परामर्शदाता छनोट


भउचप्रसाद यादव

काठमाडौँ, भदौ ३० गते । काठमाडौँ उपत्यकाको सहरीकरण र ट्राफिक जामलाई व्यवस्थित गर्न प्रस्तावित धुलिखेल–नागढुङ्गा मेट्रोरेलको विकास, सञ्चालन तथा व्यवस्थापनबारे विस्तृत सम्भाव्यता अध्ययन प्रतिवेदन तयार पार्न परामर्शदाता छनौट गरिएको छ ।
लगानी बोर्डका सहसचिव तथा प्रवक्ता उत्तमभक्त वाग्लेले सहरी यातायातलाई व्यवस्थित गर्ने उद्देश्यका साथ प्रस्तावित धुलिखेल–नागढुङ्गा मेट्रोरेलको विकास, सञ्चालन तथा व्यवस्थापनबारे विस्तृत सम्भाव्यता अध्ययन प्रतिवेदन (डिटेल फिजिविलिटी स्टडी, डीएफएस) तयार पार्नका लागि छ वटा अन्तर्राष्ट्रिय कम्पनी परामर्शदाता संस्था छनौट गरिएको जानकारी दिनुभयो ।
चाइना मेसिनरी इञ्जिनियरिङ कर्पोरेशन, चाइना रेल्वे सिउवान सर्वे एण्ड डिजाइन गेरुप कम्पनी लिमिटेड, निप्पोन कोइ कम्पनी लिमिटेड जापान, राइट्स इण्डिया लिमिटेड, युसिन इञ्जिनियरिङ कर्पोरेशन सिउल र युकसेल प्रोजे युसलराशी टर्कीलाई परामर्शदातामा छनोट गरिएको जानकारी प्रवक्ता वाग्लेले दिनुभयो ।metrorail
छनोट भएका संस्थाहरूले आगामी असोज २८ गतेभित्र प्रस्तावित उक्त मेट्रोरेलको विकास, सञ्चालन तथा व्यवस्थापनबारे आयोजना प्रस्ताव प्रस्तुत गर्नुपर्ने बताउँदै उहाँले प्रस्तुत गरिने प्रस्तावहरूको मूल्याङ्कनको आधारमा छ वटामध्ये एउटा परामर्शदाता छनोट गरिने जानकारी दिनुभयो । छनोट भएका परामर्शदाताले १८ महिनाभित्र विस्तृत सम्भाव्यता अध्ययन प्रतिवेदन (डिटेल फिजिविलिटी स्टडी, डीएएस) तयार पारी लगानी बोर्डमा बुझाउनुपर्ने उहाँले बताउनुभयो ।
बोर्डले गत जेठ ३ गते प्रस्तावित उक्त मेट्रोरेलबारे विस्तृत सम्भाव्यता अध्ययन प्रतिवेदन (डीएफएस) तयार पार्नका लागि सार्वजनिक खरिद ऐनअनुसार ग्लोबल बोेलपत्र (टेण्डर) आह्वान गरेको थियो । त्समा २३ वटा संस्थाले परामर्शदाताको रुपमा काम गर्न टेण्डर भरेको थियो ।
कुल २३ वटामध्ये लगानी बोर्डले छ वटाको छनोट गरेको हो । छनोट भएका संस्थाले प्रस्तावित उक्त मेट्रोरेलको विस्तृत् परियोजना प्रतिवेदन (डिपीआर) तयार पार्ने जानकारी समेत उहाँले दिनुभयो । डीपीआर तयार भइसकेपछि निर्माण, सञ्चालन र हस्तान्तरण (बुट) मोडेलमा उक्त मेट्रोरेल निर्माणका लागि अन्तर्राष्ट्रिय कम्पनीको खोजी गरिने लगानी बोर्डले जनाएको छ ।
प्रधानमन्त्री अध्यक्ष रहेको उक्त लगानी बोर्डको २०७४ कात्तिक २७ गते बसेको बैठकले धुलिखेलदेखि नागढुङ्गासम्म मेट्रोरेल निर्माणका लागि विस्तृत सम्भाव्यता अध्ययन र विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) निर्माण गर्ने निर्णय गरेको थियो ।
प्रस्तावित उक्त रेलमार्गको दुरी करिब ४५ किलोमिटर हुने लगानी बोर्डले जनाएको छ । प्रस्तावित मेट्रोरेलको प्रति किलोमिटर निर्माण लागत चार अर्ब रुपियाँ अर्थात यस मेट्रोरेलको कुल निर्माण लागत एक खर्ब ८० अर्ब रुपियाँ अनुमान गरिएको छ ।
उक्त मेट्रोरेल निर्माणका विषयमा यसअघि नै चिनियाँ, जापानी र कोरियाली कम्पनीले नेपाल सरकार समक्ष प्रस्ताव प्रस्तुत गरिसकेको छ । सन् २०१२ मा कोरियन कम्पनी चुङसुङ इन्जिनियरिङले काठमाडौँ उपत्यकामा मेट्रो रेलको सम्भाव्यता अध्ययन गरेको थियो । त्यस बेलादेखि नै मेट्रोरेलको चर्चा हुन लागेको हो ।

 

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना