• १२ वैशाख २०८१, बुधबार

टिपताला नाका खुलाउन प्रधानमन्त्रीलाई ध्यानाकर्षणपत्र

blog

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई नाका खुलाउन ध्यानाकर्षणपत्र बुझाइँदै ।

चन्द्र पन्दाक

ताप्लेजुङ, चैत २२ गते । ताप्लेजुङस्थित चीनसँग सीमा जोडिएको टिपताला नाका खुलाउनमा सहजीकरण गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई ध्यानाकर्षणपत्र बुझाइएको छ । फक्ताङ्लुङ गाउँपालिकाका अध्यक्ष राजन लिम्बूको नेतृत्वमा गएको एक टोलीले प्रधानमन्त्री प्रचण्डलाई भेटेर नाका खुलाउनमा सहजीकरण गरिदिन ध्यानाकर्षणपत्र बुझाएको हो । 

कोरोना भाइरस (कोभिड–१९) महामारीसँगै विगत तीन वर्षदेखि चीनको स्वशासित क्षेत्र तिब्बतसँग सीमा जोडिएको टिपताला नाका बन्द रहेको छ । गाउँपालिका अध्यक्ष लिम्बूको नेतृत्वमा मङ्गलबार प्रधानमन्त्री प्रचण्डलाई भेटेर ध्यानाकर्षणपत्र बुझाएको फक्ताङ्लुङ गाउँ कार्यपालिकाका सदस्य मिङ्माडण्डु शेर्पाले जानकारी दिनुभयो । 

कार्यपालिका सदस्य शेर्पाकाअनुसार ध्यानाकर्षणपत्र बुझाउँदै कोभिड महामारीपछि हालसम्म बन्द रहेको टिपताला नाका खुला गरी स्थानीयको दैनिकी सहज बनाउन प्रधानमन्त्री प्रचण्डसँग आग्रह गरिएको छ । टिपताला नाका बन्द हुँदा सीमावर्ती क्षेत्र ओलाङ्चुङगोला, याङ्मा, फले र घुन्साका बासिन्दा सबैभन्दा बढी प्रभावित भएकाबारे प्रधानमन्त्रीको ध्यानाकर्षण गरेको गाउँपालिका अध्यक्ष लिम्बूले बताउनुभयो । 

हिमाली क्षेत्रका बासिन्दाको मुख्य पेसाको रूपमा रहेको पशुपालन, जडीबुटी, गलैँचाजस्ता वस्तुको व्यापार तथा कारोबार ठप्प हुँदा उनीहरूको दैनिकीमा समस्या रहँदै आएकोबारे प्रधानमन्त्रीलाई अवगत गराएको फक्ताङ्लुङ गाउँपालिका–७ ओलाङ्चुङगोलाका वडाध्यक्ष छेतेन वालुङले बताउनुभयो । प्रभावित क्षेत्रकै बासिन्दा वडाध्यक्ष वालुङले नाका बन्द हुँदा उपभोग्य तथा व्यापारिक वस्तु आयात–निर्यात गर्न नपाउँदा समस्या रहेको बताउनुभयो । 

टिपताला नाका खुलाएर यहाँ उत्पादन हुने वस्तु निर्यात गर्न र दैनिक उपभोग्य तथा आवश्यक वस्तु आयात गर्ने प्रबन्ध मिलाउन ध्यानाकर्षण गरेको वालुङले जानकारी दिनुभयो । ओलाङ्चुङगोला, याङ्मा, घुन्सासहित हिमाली क्षेत्रमा बासिन्दाको मुख्य पेसा व्यापार रहेको छ । यहाँका स्थानीयले जडीबुटी, पशुचौपाया, गलैँचालगायतका वस्तु तिब्बत निर्यात गर्ने गर्दछन् । 

नाका बन्द भएपछि भने पशुचौपायाको व्यापार गर्न नपाउँदा याक चौरीका सङ्ख्या बढेको स्थानीय बताउँछन् । सङ्कलित जडीबुटी, गलैँचालगायत निर्यातजन्य वस्तुहरू थन्क्याएर राख्नुपरेको स्थानीयले बताएका छन् । त्यस्तै, खाद्यान्नलगायत दैनिक उपभोग्य वस्तुहरू तिब्बतबाट नै आयात गर्ने गरेकोमा नाका बन्द भएपछि आयात पनि ठप्प भएको उहाँहरूको भनाइ छ । वर्षौँदेखि नाका बन्द भएर व्यापार गर्न नपाउँदा र उपभोग्य वस्तुहरू आयात नहुँदा दैनिकी चलाउनलाई असहज भइरहेको स्थानीयले बताएका छन् ।