• ८ वैशाख २०८१, शनिबार

बेलहिया नाकामा चार दिनमा ३६ जनामा कोरोना सङ्क्रमित फेला

blog

सीमानाका बेलहियामा कोरोना परीक्षण गरिँदै । तस्विरः लक्ष्मण पौडेल

लक्ष्मण पौडेल

भैरहवा, चैत २२ गते । पछिल्लो चार दिनमा भारतबाट रुपन्देहीको बेलहिया नाका हुँदै नेपाल भित्रिएका ३६ जनामा कोरोना सङ्क्रमण देखिएको छ । भारतमा कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनको सङ्क्रमण देखिएपछि लुम्बिनी प्रदेश सरकारले अघिल्लो सातादेखि सीमा नाकामा कोभिड जाँच तथा हेल्प डेस्क राखेको थियो ।

शङ्कास्पद व्यक्तिहरूमा नमुना परीक्षण गर्दा यति धेरै सङ्क्रमित भेटिएका हुन् । बेलहिया हेल्प डेस्कका अहेब सुनिल न्यौपानेका अनुसार शनिबार बनारसबाट फर्किएका भरतपुरका ४५ जना नेपाली तीर्थयात्रीहरूको परीक्षणको क्रममा ११ जनामा ओमिक्रोन देखिएको थियो ।

आइतबार १५९ जनाको परीक्षण गर्दा १७ जनामा, सोमबार ९२ जनाको परीक्षण गर्दा ३ जनामा र मंगलबार २३२ जनामा परीक्षण गर्दा ६ जनामा कोभिड सङ्क्रमण पुष्टि भएको हो । भारतीय सहरबाट रोजगारी गरी फर्कने तथा तीर्थाटन गरेर आउने व्यक्तिमा बढी सङ्क्रमण देखिएको छ ।

ल्याब सहायक खीमा डाँगीले सीमा नाकाबाट सबैको कोभिड परीक्षण सम्भव नहुँदा समूहमा आएका मध्येबाट नमुना परीक्षण गरिँदै आएको बताउनुभयो ।