माहुरी पासोबाट आकर्षक आम्दानी


बागलुङ समाचारदाता

बागलुङ, भदौ २९ गते । बागलुङको काठेखोला गाउँपालिका रेशका किसान परम्परागत माहुरी पासोबाट राम्रो आयआर्जन गर्न सफल भएका छन् । काठेखोला गाउँपालिका ७ रेशका किसान परम्परागत रूपमा माहुरीको बासस्थान, उनीहरूको आनीबानीको अध्ययन गरी माहुरी पासो विधि अपनाएर आम्दानी गर्न सफल भएका हुन् ।
परम्परागत घारमा माहुरीपालन गर्दै आइरहेका रेशका किसानले माहुरी भाग्ने र घारबाट छुट्टिने माहुरीको आनीबानीको अध्ययन गरी परम्परागत माहुरी पासो विधि अपनाएर माहुरीपालन गर्दै आइरहेका छन् । गर्मी समयमा घारबाट माहुरी छुट्टिएर तथा घारमा अन्य जीवले आक्रमण गर्दा भागेर भीरपहरामा पुग्ने माहुरीलाई छोप्नका लागि स्थानीयले पासो विधि अपनाउने गरेको काठेखोला गाउँपालिका ७ का वडाध्यक्ष प्रेम लामिछानेले बताउनुभयो ।
घारबाट भाग्ने अधिकांश माहुरी चिसो ठाउँ भएको भीरपहरामा गएर बस्ने भएकाले स्थानीयले उनीहरूलाई नियन्त्रण गर्नका लागि घरमा तयार गरेका माहुरीघारहरू सोही ठाउँमा लगेर राख्ने गरेका छन् । यो विधि हाम्रा बाउबाजेले गर्दै आइरहेको विधि हो, घरबाट भागेर जाने माहुरी सीधै भीरपहरामा गएर बस्ने भएकाले त्यही गाउँलेले घार लगेर राख्छन् माहुरीले जसको घार मन पराएर त्यहाँ बस्छ उसैले घरमा ल्याएर पाल्ने गर्दछन्, स्थानीय शिक्षक युवराज गौतमले भन्नुभयो ।
माहुरीले एकपटक मन पराएर रोजेको घार लामो समयसम्म नछाड्ने भएकाले अधिकांश स्थानीयले माहुरीले मन पराउने गरी घार तयार गरेर भीरपहरामा लगेर राख्ने गर्दछन् । स्थानीयले अहिले पनि गर्मी छल्न साँघुखोलालगायतका क्षेत्रमा रहेका भीरपहरामा पुग्ने माहुरीलाई नियन्त्रण गर्नका लागि दर्जनौँ घार भीरपहरामै राखेका छन् ।
रेशका स्थानीय रनबहादुर कार्कीले आफ्ना बाबुबाजेले गर्दै आइरहेको यो विधिलाई आफूले निरन्तरता दिएको बताउनुभयो । बजारमा स्थानीय तहमा उत्पादन भएको महको माग अत्यधिक भएकाले परम्परागत विधिबाटै माहुरीपालन गरिरहेको कार्कीले बताउनुभयो । गाउँभर परम्परागत माहुरीपालन गर्नेको सङ्ख्या बढी भएकाले गर्मीका बेला तल्लो भेलका माहुरी भागेर माथिल्लो भेगमा र जाडोका बेला माथिका माहुरी तल्लो भेगमा आउने भएकाले सोहीअनुसार पासो बनाएर माहुरी समात्ने गरेको कार्कीले बताउनुभयो ।
रेशका साँघुखोला, डोहोटालगायत क्षेत्रका भीरपहरामा माहुरीहरू बढी मात्रामा आउने गरेकाले उक्त स्थानमा घार राख्न स्थानीय बढी इच्छुक हुने गरेको वडाध्यक्ष प्रेम लामिछानेले जानकारी दिनुभयो । उक्त स्थानलाई वार्षिक भाडा तिरेर माहुरीका घार राख्न रेश बाहिरका मानिसहरू इच्छुक रहे पनि त्यो सम्पत्ति स्थानीयको भएकाले अरूलाई नदिइएको लामिछानेले बताउनुभयो ।
आफूहरूले उत्पादन गरेको मह प्रतिकेजी दुई हजार रुपियाँभन्दा बढी मूल्यमा बिक्री हुने गरेको र स्थानीय परम्परागत घारमा पालिएका माहुरीबाट राम्रो मह उत्पादन हुने भएकाले परम्परागत माहुरीपालनमै व्यस्त हुने गरेको स्थानीय किसान मित्र कार्कीले बताउनुभयो ।

 

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना


Copyright © 2014, Gorkhapatraonline.com. All rights reserved. | Developed by: Young Minds