• ७ वैशाख २०८१, शुक्रबार

सुजनले जिब्रो छेडाएर जात्रालाई निरन्तरता दिने

blog

सुजन बाग श्रेष्ठ । फाइल तस्बिर

भक्तपुर, चैत २२ गते । मध्यपुरथिमिको बोडेको जात्रामा यस वर्ष २७ वर्षीय सुजन बाग श्रेष्ठले जिब्रो छेड्ने भएका छन् । बिस्काः जात्राको अवसरमा मध्यपुरथिमिको बोडेमा आयोजना हुने मौलिक शैलीको जात्रामा उहाँले जिब्रो छेड्न लाग्नुभएको हो ।

जात्रामा जिब्रो छेड्ने स्थानीय श्रेष्ठ थरको पुरुष हुनुपर्ने परम्परा छ । यही परम्पराअनुसार यस वर्ष सुजनले जिब्रो छेडेर जात्रालाई निरन्तरता दिन लाग्नुभएको हो । सुजन नौ पटक जिब्रो छेडेर जात्रालाई निरन्तरता दिँदैआउनुभएका स्थानीय बुद्धकृष्ण बाग श्रेष्ठका कान्छा छोरा हुन् । बुद्धकृष्णले पहिलो पटक २०६२ सालमा जिब्रो छेडाएर जात्रालाई निरन्तरता दिनुभएको थियो । त्यसपछि उहाँले २०६५ सालसम्म लगातार चार पटक जिब्रो छेडाउनुभयो ।

वि.सं २०६६ मा बुद्धकृष्णले जिब्रो नछेड्ने बताएपछि जात्रालाई निरन्तरता दिन जुजुभाइ बाँस श्रेष्ठले जिब्रो छेडाउनुभयो । जुजुभाइले २०६५ देखि २०७२ सालसम्म आठ पटक जिब्रो छेडेर जात्रालाई निरन्तरता दिनुभयो । वि.सं २०७३ मा जुजुभाइका श्रीमती र भाउजू दुवै बिरामी भएकाले जिब्रो नछेड्ने घोषणा गर्नुभयो । त्यसयता पुनः बुद्धकृष्णले जिब्रो छेडाएर जात्रालाई निरन्तरता दिँदै आउनुभएको थियो ।

जात्राको हालसम्मको तथ्याङ्क तथा प्रमाणअनुसार १२ जनाले एक सय छ वर्ष जिब्रो छेडाएको इतिहास छ । वि.सं १९६९ देखि १९९० सम्म हर्कनरसिंह बाँस श्रेष्ठले २२ पटक, वि.सं १९९१ देखि २०२२ सम्म बेखानारायण हाय श्रेष्ठले ३२ पटक, २०२३ मा हरिदेव किला श्रेष्ठले, २०२४ देखि २०२६ सालसम्म हरि भासिंक श्रेष्ठले तीनपटक तथा २०२७ र २०२८ सालमा इन्द्रबाटा श्रेष्ठले दुई पटक जिब्रो छेडाउनुभएको तथ्याङ्क छ ।

त्यस्तै  २०२९ देखि २०३१ सालसम्म हर्केश्वर ब्याँ श्रेष्ठले तीन, २०३२ देखि २०३८ सालसम्म चन्द्रसेन द्यो श्रेष्ठले सात, २०३९ देखि २०४६ सालसम्म दिलकुमार खपे श्रेष्ठले सात, २०४७ सालमा मुनि घों श्रेष्ठले, २०४८ सालमा धर्मराज बलाय श्रेष्ठले तथा २०४९ देखि २०६० सालसम्म १२ पटक कृष्णचन्द्र बाग श्रेष्ठले जिब्रो छेडाएको इतिहास छ । रासस