• १५ चैत २०८०, बिहिबार

सौराहामा हात्तीको सूँड काटियो

blog

सौराहामा आक्रमण गरी निजी हात्तीको सुड काटियो । तस्बिर : शालिग्राम नेपाल

शालिग्राम नेपाल
चितवन, चैत २२ गते ।
 चितवनको सौराहामा निजी हात्तीमाथि आक्रमण हुँदा सूँड काटिएको छ । मङ्गलबार राति करिब साढे ११ बजेतिर दीपक खतिवडाले पाल्नु भएको हात्तीमाथि नचिनेका व्यक्तिले आक्रमण गरी सूँड काटेका छन् । सुडको टुप्पो भाग काटिएपछि दुःखाइको पीडाले हात्ती कराएको थियो ।

तत्काल राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहाका प्राविधिक किरण रिजालको टोलीले उपचार गरेको छ । उपचारपछि सामान्य अवस्थामा जान लागेको रिजालले जानकारी दिनुभयो ।

‘‘रगत रोकिएको छ । हामी उपचारमा संलग्न छौँ ।,’’ उहाँले भन्नुभयो, ‘‘दिएको खानेकुरा खान सक्छ पानी भने सूँडले खान पर्ने भएकाले त्यो खान सकेको छैन ।’’

हात्तीमाथि आक्रमण गरिएको थियो । अज्ञात व्यक्तिले हात्तीको सुडमा हतियार प्रहार गरी सूँड दुई टुक्रा बनाएको हात्तीका मालिक दीपक खतिवडाले बताउनुभयो ।

४५ वर्षीय चनचनकली नामको हात्तीलाई घरमा आएर आक्रमण गरिएको थियो । हात्ती पीडाले कराएपछि हेर्न पुग्दा सूँड काटिएको अवस्थामा भेटिएको हात्ती मालिक खतिवडाले बताउनुभयो ।

हात्ती माथिको आक्रमण निन्दनीय भएकाले आक्रमण गर्ने व्यक्तिको खोजी कार्य जारी रहेको चितवन राष्ट्रिय निकुञ्जका पशु चिकित्सक विजय श्रेष्ठले जानकारी दिनुभयो ।