• ६ वैशाख २०८१, बिहिबार

उपनिर्वाचन : उम्मेदवारविरुद्ध परेका उजुरीको आज छानबिन गरिँदै

blog

काठमाडौं, चैत २२ गते । आगामी वैशाख १० गते हुने उपनिर्वाचनका लागि दर्ता गराएका उम्मेदवारविरुद्ध परेका उजुरीको आज (बुधबार) छानबिन गरिँदै छ । निर्वाचन आयोगले मङ्गलबार उजुरी आह्वान गरेको थियो । उम्मेदवारविरुद्ध मङगलबार परेका उजुरीको छानबिन गरी आजै साँझ निर्णय गरिने आयोगले जनाएको छ ।

यसैगरी, उम्मेदवारी फिर्ता लिनका लागि चैत २३ गते बिहान ९ बजेदेखि दिउँसो १ बजेसम्मको समय तोकिएको छ । आयोगले उम्मेदवारको अन्तिम नामावली प्रकाशन र चुनाव चिह्न पनि सोही दिन प्रदान गरिने जनाएको छ ।

त्यसपछि चुनाव प्रचारप्रसार सुरु हुने र वैशाख १० गते बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म उपनिर्वाचनका लागि मतदान हुने तालिका रहेको आयोगले जनाएको छ ।

आगामी वैशाख १० गते तनहुँ–१, बारा–२ र चितवन–२ मा हुने उपनिर्वाचनका लागि सोमबार उम्मेदवारी दर्ता भएको थियो ।

गत मङ्सिर ४ को चुनावमा तनहुँ–१ बाट निर्वाचित रामचन्द्र पौडेल राष्ट्रपति र बारा–२ बाट निर्वाचित रामसहायप्रसाद यादव उपराष्ट्रपति निर्वाचित हुनुभएको र चितवन–२ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने नागरिकता विवादमा दोषी ठहर हुँदा पदमुक्त भएकाले उपनिर्वाचन गर्न लागिएको हो ।