• १५ चैत २०८०, बिहिबार

एक वर्षदेखी गोठमा थुनिएकी बालिकाको उद्धार

blog

बालिकालाई थुनेर राख्ने गोठ । तस्बिर : नविन सुबेदी

नविन सुबेदी
सुर्खेत चैत २२ गते । 
सुर्खेतको भेरीगंगा नगरपालिका–११ मा करिब एक वर्षदेखि बाख्रा गोठमा थुनिएकी एक बालिकाको उद्धार गरिएको छ । मानसिक स्वास्थ्यमा समस्या रहेकी  १५ वर्षीया निरुता खत्रीको उद्धार गरिएको हो । मानसिक स्वास्थ्यमा समस्या रहेकी खत्रीलाई घरका अरू सदस्य कामका लागि बाहिर जाँदा घर नजिकै रहेको बाख्रा गोठमा थुनेर जाने गरेको बताइएको छ ।

एकलै छाडिँदा छोड्दा रुखमा चढ्ने, दौडने, जथाभाबी हिँडिदा गर्न थालेपछि निरुताकै सुरक्षाका लागि एक वर्षदेखि बाख्रा गोठमा थुन्नुपरेको उहाँकी आमा मानकुमारी खत्रीले जानकारी दिनुभयो । बालिकालाई बाख्रा गोठमा थुनेर राखेको भिडियो सामाजिक सञ्जालमा आएपछि  मानव सेवा आश्रमले नगरपालिका र वडा कार्यालयको सहयोगमा उद्धार गरेर वीरेन्द्रनगरस्थित आश्रममा ल्याएर राखेको छ ।

आश्रममा राखेर थप उपचार गरिने र स्वास्थ्यमा सुधार आएपछि परिवारसँग पुनर्मिलन गराइने मानव आश्रम सुर्खेतले जनाएको छ । उद्धारमा स्थानीय सरकार वडा तथा नगरपालिकाले पनि सहयोग गरेको छ । भेरीगंगा नगरपालिका–११ मा रहेको जाजारकोटी टोलमा सामान्य परिवारमा जेठो सन्तानको रूपमा जन्मिएको निरुताको पहिलेदेखि नै व्यवहार अरू बालबालिकाभन्दा फरक रहेको आमा मानकुमारीले बताउनुभयो ।

मानकुमारीका अनुसार सानै हुँदादेखि यस्तो समस्या देखिएपनि बिस्तारै ठीक हुन्छ होला भन्ने सोच्यौँ तर पछि रोगले झनै च्याप्दै गएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘विद्यालय पठाउँदा पनि आफ्नै सुरमा हिँड्दै जाने र घरमा राख्दा पनि रुख चढ्ने दौडने गर्न थालेपछि थुनेर राख्नुपरेको हो ।’’

उपचारमा हालसम्म झण्डै १० लाख खर्च हुँदा पनि निको नभएपछि निरुतालाई गोठमा राख्नुपरे  उहाँको भनाइ छ । निरुतालाई उपचारका लागि झामीझाँक्रीदेखि सुर्खेत, नेपालगञ्ज, काठमाडौं हुँदै  भारतसम्म पुर्‍याउँदा पनि निको नभएको मानकुमारीले बताउनुभयो ।