• १५ चैत २०८०, बिहिबार

महासङ्घ निर्वाचनमा समूहगत उम्मेदवारी

blog

काठमाडौँ, चैत २२ गते । नेपाल उद्योग वाणिज्य महासङ्घको आसन्न निर्वाचनमा वरिष्ठ उपाध्यक्षका लागि तीन जना प्रत्याशीले समूहगत उम्मेदवारी दिएका छन् । वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिनेमा व्यवसायी उमेशलाल श्रेष्ठ, अञ्जन श्रेष्ठ र रामचन्द्र सङ्घाई हुनुहुन्छ । 

महासङ्घको ५७औँ वार्षिक साधारण 

सभामा अध्यक्ष बाहेकका कार्यकारी पदका लागि यही चैत २९ गते निर्वाचन हुँदैछ । हाल वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल सोही सधारण सभाबाट स्वतः अध्यक्ष बन्दै हुनुहुन्छ । 

उमेशलाल श्रेष्ठको समूहबाट जिल्ला तथा नगर उपाध्यक्षमा दिनेश श्रेष्ठ, एसोसिएट्स उपाध्यक्षमा भरत आचार्य र वस्तुगत उपाध्यक्षमा हेमराज ढकालले उम्मेदवारी दिनुभएको छ ।  

आज भएको उम्मेदवारी दर्ता कार्यक्रममा वस्तुगततर्फबाट उपाध्यक्ष लगायत १४ जना कार्यसमित सदस्य पदका उम्मेदवारहरूले संयुक्त रूपमा उम्मेदवारी दर्ता गराएका थिए । 

यस्तै सो समूहका जिल्ला तथा नगर र एसोसिएट्सका पनि अधिकांश सदस्यहरूले मङ्गलबारै उम्मेदवारी दर्ता गराएका छन् । सो समूहका कतिपय एसोसिएट्स र जिल्ला नगरका सदस्यहरूले आइतबार र सोमबार मनोनयन दर्ता गराएका थिए ।

वरिष्ठ उपाध्यक्षमा अञ्जन श्रेष्ठले पनि आफ्नो उम्मेदवारीसहित समूहकै मनोनयन दर्ता गर्नुभएको छ । श्रेष्ठको समूहमा जिल्ला नगर उपाध्यक्षमा अरुण सुमार्गी र वस्तुगततर्पm मनीषलाल प्रधानले उम्मेदवारी दर्ता गर्नुभएको छ । एसोसिएटस तर्पmभने सो समूहले भरतराज शर्मालाई नै साथ दिने भएको छ । 

वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिनुभएका व्यवसायी रामचन्द्र साङ्घाईको समूहमा जिल्ला नगर उपाध्यक्षमा सुरजकृष्ण वैद्य, एसोसिएट उपाध्यक्षमा ज्यत्स्योना श्रेष्ठ र वस्तुगत उपाध्यक्षमा सकुन्तलाल हिराचनले उम्मेदवारी दिनुभएको छ । 

महासङ्घको निर्वाचन कार्यतालिकाअनुसार उम्मेदवारहरूविरुद्ध दाबी–विरोध तथा मनोनयन फिर्ताको अवधिपश्चात चैत २७ गते अन्तिम नामावली प्रकाशन हुनेछ । चैत २८ गते साँझ मतादान गर्ने सदस्य तथा प्रतिनिधिहरूको अन्तिम नामावली प्रकाशन हुनेछ  । २९ गते बिहान ८ बजेदेखि दिउँसो ४ बजेसम्म मतदानको कार्यक्रम राखिएको नेपाल उद्योग वाणिज्य महासङ्घले जनाएको छ ।